काठमाडौं/एजेन्सी । अमेरिका र इजरायलले पुनः सैन्य आक्रमण गरेमा फारसी खाडी क्षेत्रका सात वटा देशमा रहेका तेल पूर्वाधार, अन्डरसी केबल, डाटा सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधाहरूमा प्रहार गर्ने इरानले कडा चेतावनी दिएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले नयाँ द्वन्द्व भड्किएमा ती रणनीतिक पूर्वाधारहरूलाई निशाना बनाइने स्पष्ट पारेका हुन् ।
इरानका सुरक्षा प्रमुखहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पुनः आक्रमण गरेमा इरानको रणनीतिमा ‘कुनै रेड लाइन’ (शून्य सीमा) हुने छैन । इरानी वार्ताकारका सल्लाहकार मेहदी मोहमदीका अनुसार ट्रम्प र नेतान्याहुले सिद्धान्ततः आक्रमणको सहमति जनाए पनि यसको सफल परिणामको ग्यारेन्टी गर्न सकेका छैनन् । सम्भावित नयाँ द्वन्द्वलाई इरानले आफ्नो अस्तित्वको संकटका रूपमा हेरेको र यो युद्ध शत्रुले सोचेभन्दा लामो तथा फराकिलो भौगोलिक क्षेत्रमा फैलिने मोहमदीले बताएका छन् ।
इरानी सञ्चारमाध्यमका अनुसार रेजाईले इरानको अर्थतन्त्रमाथि आक्रमण हुँदा आक्रमणलाई सहयोग पुर्याउने क्षेत्रको आर्थिक संरचना भने सुरक्षित रहन नसक्ने चेतावनी दिएका छन् ।
अमेरिकी मिडियाका अनुसार आगामी नोभेम्बर ३ मा हुने मध्यावधि चुनावपछि इरानमाथि संयुक्त आक्रमण गर्न अमेरिकी सैन्य सल्लाहकारहरूले सम्भावित लक्ष्यहरूको विस्तृत सूची तयार पारिसकेका छन् । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सोमबार इजरायल पुगेर प्रधानमन्त्री नेतान्याहुसँग सम्भावित आक्रमणको समय र उद्देश्यबारे छलफल गरेका थिए। नेतान्याहुले भने इरानले पहिले आक्रमण गरोस् भन्ने चाहेको रिपोर्टमा उल्लेख छ ।
नोभेम्बरको सुरुसम्ममा अमेरिकाले मध्यपूर्वमा तीन वटा विमानवाहक जहाज (एयरक्राफ्ट क्यारियर), हजारौँ म्यारिन, फाइटर जेट र विशेष अपरेसन टोली तैनाथ गर्ने योजना बनाएको छ । यस्तै, दर्जनौँ इजरायली विमानहरू इरानी सीमा नजिक उडेका थिए भने इरानको अराकस्थित एल्युमिनियम कारखानामा ठूलो आगलागी भएपछि तोडफोड वा आन्तरिक हमलाको आशंका गरिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) ले हर्मुज जलडमरूमध्य (Strait of Hormuz) मा तेल ओसारपसार गरिरहेका चार वटा व्यावसायिक जहाजमा आक्रमण गरेको र अन्य तीन वटा जहाज माइनमा ठोक्किएर क्षतिग्रस्त भएको दाबी गरेको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन। नयाँ युद्धको जोखिम बढेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयल (कच्चा तेल) को मूल्य बढेर प्रतिब्यारेल ११३.४ डलर पुगेको छ ।
इरानी परराष्ट्र मन्त्रालय निकट अन्तर्राष्ट्रिय कानुनविद् रेशा नासरीले तेस्रो चरणको युद्ध सुरु भएमा यसले क्षेत्रीय विनाश निम्त्याउने चेतावनी दिएका छन् । उनका अनुसार पावर ग्रिड, खानेपानी शुद्धीकरण प्लान्ट, रिफाइनरी र बन्दरगाहहरू ध्वस्त भई करोडौँ मानिस पानी र बिजुलीबाट वञ्चित हुनेछन् भने विश्व अर्थतन्त्र मन्दीमा धकेलिनेछ । यस्तै इरानको फार्स न्युज एजेन्सीका अनुसार उच्च अधिकारीहरूको हत्या वा नागरिकको ज्यान गएमा इरानले सैन्य मात्र नभई राजनीतिक लक्ष्यहरूमा पनि जवाफी हमला गर्ने निर्देशिका जारी गरेको छ ।
यसैबीच, इरानी, येमेनी र प्यालेस्टिनी संकट समाधानका लागि टर्कीको इस्तानबुलमा तीन युरोपेली देशसहित टर्की, साउदी अरेबिया, पाकिस्तान र इजिप्टका परराष्ट्रमन्त्रीहरूको बैठक बस्दैछ । इरान र पाकिस्तानका मध्यस्थकर्ताहरूले युद्धविरामका लागि प्रयास गरिरहेका छन्, जसमा इरानमाथिको अमेरिकी प्रतिबन्ध हटाउने र फ्रिज गरिएका सम्पत्ति फुकुवा गर्ने शर्तमा हर्मुजको नाकाबन्दी हटाउन र आणविक निरीक्षणको अनुमति दिन इरान तयार रहेको जनाइएको छ ।






















