images
images
  • बहुमत जोगाउनुपर्ने दबाबमा ट्रम्प: मध्यावधि निर्वाचन खर्च ४०० मिलियन डलरभन्दा बढी पुग्ने दाबी

    काठमाडौं- अमेरिकामा आगामी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन उम्मेदवारहरूलाई जिताउन ठूलो मात्रामा चुनावी कोष परिचालन गरेका छन् ।

    ट्रम्पको राजनीतिक अभियानसँग आबद्ध समूहहरूले सेप्टेम्बरदेखि अक्टोबरको मध्यसम्ममा मात्रै करिब २७७ मिलियन अमेरिकी डलर खर्च गरेका छन् । यो रकम नेपाली मुद्रामा करिब ३७ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । अमेरिकी संसद् (कंग्रेस) का दुवै सदनमा आफ्नो दलको बहुमत कायमै राख्ने मुख्य उद्देश्यसहित ट्रम्पले यो ठूलो रकम खर्च गरेका हुन् ।

    न्युयोर्क टाइम्सका अनुसार ट्रम्पको मुख्य राजनीतिक खर्च समिति ‘मागा इंक’ले सन् २०२४ को निर्वाचनमा उनी पुनः निर्वाचित भएयता करिब ४७३ मिलियन डलर संकलन गरिसकेको छ । अहिले सोही कोषबाट रिपब्लिकन उम्मेदवारहरूको प्रचारप्रसार र विज्ञापनमा तीव्र लगानी भइरहेको छ । विज्ञापनमा गरिएको यो ठूलो लगानीले कडा प्रतिस्पर्धा झेलिरहेका रिपब्लिकन उम्मेदवारहरूको स्थिति बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

    विवरणअनुसार ट्रम्पसँग आबद्ध अन्य दुई राजनीतिक खर्च समितिहरू ‘नो गोइङ ब्याक पीएसी इंक’ र ‘सेफ्टी एन्ड अफोर्डेबिलिटी पीएसी इंक’ले अक्टोबर १४ सम्ममा ‘मागा इंक’ बाट कुल २२५ मिलियन डलर प्राप्त गरेका थिए । निर्वाचन खर्चसम्बन्धी यो पछिल्लो वित्तीय विवरण संघीय निर्वाचन आयोगद्वारा सार्वजनिक गरिएको हो ।

    लोकप्रियता घट्दो, विज्ञापन खर्च बढ्दो

    ट्रम्पसँग आबद्ध बाह्य राजनीतिक समूहहरूले ‘लेबर डे’ को आसपासदेखि नै २४ वटा राज्यमा व्यापक विज्ञापन अभियान सुरु गरेका थिए । यो अभियान विशेषगरी सिनेट र प्रतिनिधिसभाका त्यस्ता क्षेत्रहरूमा केन्द्रित छ, जहाँ डेमोक्रेटिक र रिपब्लिकन उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा छ । पछिल्लो समय ट्रम्पको लोकप्रियतामा आएको उतारचढावका कारण परम्परागत रूपमा रिपब्लिकनकै वर्चस्व रहेका कतिपय क्षेत्रमा समेत डेमोक्रेट उम्मेदवारहरूले बलियो चुनौती दिएका छन् ।

    अक्टोबर १४ सम्म यी तीनवटै समूहसँग करिब १८१ मिलियन डलर नगद मौज्दात थियो । विज्ञापन खर्चको निगरानी गर्ने एजेन्सी ‘एडइम्प्याक्ट’को अनुमानअनुसार अक्टोबर १५ देखि मतदानको दिनसम्ममा यी समूहले थप ९९ मिलियन डलर विज्ञापनमा खर्च गर्ने योजना बनाएका छन् । यस हिसाबले यस मध्यावधि निर्वाचनमा ट्रम्प पक्षधर समूहहरूको कुल खर्च ३०० मिलियन डलर नाघ्ने निश्चित देखिएको छ ।

    ४०० मिलियन डलरभन्दा बढी खर्च हुने ट्रम्पको दाबी

    आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले निर्वाचनको दिनसम्म कुल खर्च ४०० मिलियन डलरभन्दा बढी पुग्ने दाबी गरेका छन् ।

    उनका अनुसार ३०० मिलियन डलरभन्दा बढी रकम विज्ञापन, मतदाताहरूसँगको प्रत्यक्ष संवाद, चुनावी र्‍याली, मतदानका लागि प्रेरित गर्ने कार्यक्रम र निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने गतिविधिहरूमा खर्च भइसकेको छ ।

    ‘मागा इंक’को वित्तीय प्रतिवेदनअनुसार यस चुनावी अभियानका प्रमुख दाताहरूमा क्रिप्टो डटकम सञ्चालन गर्ने कम्पनी ‘फोरिस ड्याक्स’, विस्कन्सिनकी अर्बपति उद्यमी डियन हेन्ड्रिक्स, ब्ल्याकस्टोनका सीईओ स्टिफन श्वार्जम्यान र क्यासिनो व्यवसायी स्टिभ विन रहेका छन् । यसबाहेक ट्रम्प प्रशासनका नीति तथा निर्णयहरूबाट प्रत्यक्ष प्रभावित हुन सक्ने व्यावसायिक हित जोडिएका विभिन्न कर्पोरेट कम्पनीहरूले पनि यस कोषमा ठूलो चन्दा दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images