images
images
  • युक्रेन मुद्दामा अमेरिका, रुस र चीनको आआफ्नै स्वार्थः ट्रम्प सीसहित किन चाहन्छ त्रिपक्षीय वार्ता ?

    काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेन युद्ध अन्त्य गर्न रोकिएका वार्ता पुनः सुरु गराउने कूटनीतिक प्रयास तीव्र पारेको छ । अमेरिकाले युक्रेन र उसका युरोपेली साझेदारमाथि दबाब बढाएको छ ।

    साथै रुसलाई वार्तामा ल्याउन केही प्रतिबन्ध खुकुलो पार्ने र रुसी डिजेल निर्यातसम्बन्धी सम्झौता जस्ता छुट दिने प्रयास गरिरहेको छ ।

    तर रुस शान्ति वार्ता पुनः सुरु गर्न हतारिएको देखिँदैन । अक्टोबर २१ मा सेन्ट पिटर्सबर्गमा अमेरिकी विशेष दूत स्टिभ विटकाफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको भेटपछि क्रेमलिनले अर्को महिना युक्रेनसँग प्राविधिक स्तरमा वार्ता गर्न तयार रहेको जनाएको छ ।

    पुटिनका सल्लाहकार युरी उसाकोभका अनुसार मस्कोले नोभेम्बर १० पछि अमेरिकी मध्यस्थतामा वार्ता पुनः सुरु गर्न सहमति जनाएको छ । वार्ताको अर्को चरण अबुधाबीमा हुन सक्ने र युद्धपछिको सुरक्षा संरचनाबारे छलफल हुने उनले बताए ।

    पुटिनले ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनफिङ सहभागी हुनसक्ने त्रिपक्षीय शिखर वार्ताबारे पनि छलफल गरेको उनले जानकारी दिए ।

    युक्रेनबिनै चीनमा त्रिपक्षीय वार्ताको प्रस्ताव

    द वाल स्ट्रिट जर्नलका अनुसार मस्कोले नोभेम्बर १८-१९ मा चीनको शेन्जेनमा हुने एसिया-प्रशान्त आर्थिक सहकार्य (एपेक) शिखर सम्मेलनका क्रममा ट्रम्प, पुटिन र सीबीच बैठक गर्न प्रस्ताव गरेको छ । पुटिनले रुसको हितअनुकूल सर्तमा युद्ध अन्त्य गर्ने सम्झौता गर्न खोजेको पत्रिकाले जनाएको छ ।

    युक्रेन र युरोपेली संघ (ईयू) लाई बाहिर राख्ने यो प्रस्तावले क्रेमलिनको वार्ता रणनीति देखाउने बताइएको छ । रुसले युक्रेनले भूभागसम्बन्धी छुट दिनुपर्ने अडान राख्दै आएको छ ।

    वाल स्ट्रिटका अनुसार पुटिनले प्रस्तावित बैठकलाई सन् १९४५ को याल्टा सम्मेलन जस्तै महत्त्वपूर्ण बनाउन चाहेका छन् । उक्त सम्मेलनमा अमेरिका, बेलायत र सोभियत संघका नेताहरूले युद्धपछिको युरोपेली व्यवस्थाबारे छलफल गरेका थिए ।

    चिनियाँ अधिकारीहरूले ट्रम्प सहभागी हुन तयार भएमा त्रिपक्षीय वार्तामा आपत्ति नहुने संकेत दिएको पत्रिकाले जनाएको छ । तर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अक्टोबर २० मा ओस्लो भ्रमणका क्रममा आफ्नो देशको भविष्यसम्बन्धी वार्तामा युक्रेन स्वयम् सहभागी हुनुपर्ने स्पष्ट पारेका थिए ।

    चीनलाई वार्ताबाट के फाइदा हुन्छ ?

    बर्लिनस्थित कार्नेगी रुस युरेशिया सेन्टरका अनुसन्धानकर्ता तेमुर उमरोभका अनुसार मस्कोले अमेरिकाबाट सम्मान प्राप्त गर्न र आफूलाई प्रमुख अन्तर्राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न खोजेको छ । उनका विचारमा चीनले सक्रिय मध्यस्थकर्ताभन्दा पनि प्रतीकात्मक साझेदारका रूपमा भाग लिनेछ ।

    ‘बेइजिङको युक्रेनको भविष्यको जिम्मेवारी लिने कुनै इरादा छैन’, उमरोभले भने । उनका अनुसार रुस आफू अमेरिका र चीनसँग समान हैसियतमा रहेको देखाउन चाहन्छ । तर चीनसँगको सम्बन्धमा मस्को वरिष्ठ साझेदार होइन ।

    चीनले संयुक्त वक्तव्यमा अस्पष्ट र बाध्यकारी प्रतिबद्धतारहित भाषा प्रयोग गर्नसक्ने उमरोभको आकलन छ । यसले बेइजिङलाई युद्धका घटनाक्रमलाई वार्ताको समझदारीअनुकूल भएको दाबी गर्न सहज बनाउनेछ ।

    तर मर्केटर इन्स्टिच्युट फर चाइना स्टडिजका अनुसन्धानकर्ता युरी पोइटाका अनुसार चीन र रुस युरेशियामा वैकल्पिक सुरक्षा संरचना निर्माण गर्ने रणनीतिक उद्देश्यमा एकअर्कासँग जोडिएका छन् ।

    उनीहरूले अमेरिकालाई युरोपमा सैन्य उपस्थिति र युक्रेनलाई दिइने सहायता घटाउन राजी गराउन सके रुसले युद्धमैदानमा लाभ लिन सक्छ । यसले अमेरिकामाथि युरोपेली संघको विश्वाससमेत कमजोर पार्न सक्ने पोइटाको विश्लेषण छ ।

    पुटिनको राजनीतिक अस्तित्व चीनका लागि महत्त्वपूर्ण

    अमेरिकास्थित केनान इन्स्टिच्युटका निर्देशक माइकल किम्मेज चीनले युद्ध अन्त्यका लागि सक्रिय कूटनीतिक भूमिका खेल्नेमा शंका व्यक्त गर्छन् । उनका अनुसार चीनले क्षेत्रीय स्थिरता र व्यापारिक सम्बन्ध चाहन सक्छ । तर पुटिनको राजनीतिक अस्तित्व उसका लागि अझ महत्त्वपूर्ण छ ।

    “चीनका लागि भ्लादिमिर पुटिनको राजनीतिक अस्तित्व सबैभन्दा महत्त्वपूर्ण छ,” किम्मेजले भने ।

    रुसले चीनलाई सस्तो ऊर्जा र अनुकूल कूटनीतिक साझेदारी प्रदान गर्छ । त्यसैले चीनले रुसलाई पराजयबाट जोगाउन अप्रत्यक्ष रूपमा सैन्य सहयोग जारी राख्न सक्ने किम्मेजको विश्लेषण छ । रुसको पूर्ण विजय चीनको मुख्य उद्देश्य नभए पनि पुटिनले हार्नु नहुने उसको प्राथमिकता रहेको उनी बताउँछन् ।

    युरोपलाई बाहिर राखेर वार्ता हुन्छ ?

    किभस्थित ‘न्यु जियोपोलिटिक्स नेटवर्क’ की अनुसन्धानकर्ता केटेरिना क्रासिनाका अनुसार युक्रेन र ईयूलाई वार्ताबाट बाहिर राख्नुले चीनले उनीहरूको अन्तर्राष्ट्रिय प्रभावलाई कसरी हेर्छ भन्ने देखाउँछ ।

    उनका विचारमा चीनले युक्रेनलाई स्वतन्त्र वार्ताकारका रूपमा मान्यता दिँदैन र युरोपलाई तुलनात्मक रूपमा कमजोर ठान्छ ।

    तर किम्मेजका अनुसार युरोपलाई वार्ताबाट बाहिर राख्दैमा उसको प्रभाव घट्दैन । युक्रेनलाई दिइरहेको आर्थिक सहायता र रक्षा उद्योगसँगको सहकार्यले युरोपको प्रभाव कायम राखेको छ ।

    उमरोभका अनुसार अमेरिका, रुस र चीनबीच हुने कुनै पनि सम्झौताले युद्धमैदानको वास्तविकतालाई बेवास्ता गर्न सक्दैन ।

    ‘वार्ताको परिणाम जस्तोसुकै भए पनि जमिनको वास्तविकता फरक हुनेछ र त्यो सबैभन्दा बढी युक्रेनमा निर्भर रहनेछ भन्ने चीनले बुझेको छ । क्रेमलिनले चाहोस् वा नचाहोस्, युक्रेनको आफ्नै अस्तित्व र निर्णय गर्ने क्षमता छ । कूटनीतिक दबाबका भरमा अमेरिका वा पश्चिमी देशहरूले युद्धमैदानको परिणाम पूर्ण रूपमा तय गर्न सक्दैनन्’, उमरोभले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images