म्याग्दी- म्याग्दीका पर्यटकीय स्थलहरुमा दसैंलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ । अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक मर्मत भएपछि चाडपर्वको बिदा मनाउन आएका पर्यटकहरुको चहलपहल बढेको हो ।
घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ्ग-तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से, गलेश्वरलगायतका पर्यटकीय स्थलमा बिहीबारदेखि पर्यटकको आगमन शुरु भएको स्थानीय ब्यवसायीहरुले बताएका छन् ।
बेनी नगरपालिका-९ गलेश्वरका होटल ब्यवसायी बाबुराम आचार्यले वडादसैंको टीकालगत्तै पर्यटक आगमन बढेको बताए ।
‘असोजको दोस्रो साताको कालीगण्डकी बाढीका कारण बेनी-जोमसोम सडक अवरुद्ध हुँदा शुन्य जस्तै भएको पर्यटक आगमन बिहिबारदेखि बढ्न थालेको छ’, उनले भने, ‘मर्मतपछि मुस्ताङ जोड्ने सडकमा यातायात सञ्चालन भएकाले दसैं–तिहारको बीचमा पर्यटक आगमन बढेर थलिएको व्यापार व्यवसाय चलायमान हुने अपेक्षा गरेका छौं ।’
असोजको ८ देखि ११ गतेदेखिको निरन्तरको झरीपछि पहिरो र कालीगण्डकी बाढीका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकको म्याग्दी खण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको छ । विगतका तथ्याङ्कअनुसार शरदयामको असोज-कात्तिक म्याग्दीमा सबैभन्दा धेरै विदेशी पर्यटक आगमन हुने महिना हो ।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय स्थल घोडेपानीका होटल व्यवसायी समेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढीले विगतका वर्षको संख्यामा विदेशी पर्यटक आउन नसकेपनि दसैं-तिहारको बिदा मनाउन पदयात्राका लागि आन्तरिक पर्यटकहरुको प्रतिक्षामा रहेको बताए ।
‘घोडेपानी-पुनहिल-घान्द्रुक पदमार्ग सुरक्षित छ’, उनले भने, ‘बाढी पहिरोले क्षति पुगेको सडक र पदमार्ग मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने बनाइएकाले पर्यटक आगमन बढ्ने अपेक्षा गरेका छौ ।’
घोडेपानी देखि ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा अवस्थित पुनहिल सूर्योदय र हिमशृङखला तथा पदयात्राका लागि अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य मानिन्छ ।
पदयात्राका साथै बेनी नगरपालिका-४ मा रहेको सिंगा तातोपानी कुण्ड प्राकृतिक उपचार र अन्नपूर्ण गाउँपालिका-२ स्थित भुरुङ्ग-तातोपानी कुण्ड पर्यटकीय हिसाबले परिचित छ । म्याग्दी नदीको बाढीका कारण क्षति पुगेको सिंगा तातोपानी कुण्ड मर्मतपछि असोज अन्तिम हप्तापछि सञ्चालनमा ल्याइएको छ ।
अन्नपूर्ण चक्रीय पदमार्गको यात्रा र मुस्ताङ जाने-आउने पर्यटकहरुको थकान मेटाउने थलोका रुपमा विकसित अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग-तातोपानी र पाउद्धार तातोपानी कुण्ड सुरक्षित रहेका छन् । भुरुङ्ग-तातोपानीका सञ्चालक प्रितम पुर्जाले करिब एक महिनापछि पर्यटक आगमन हुन थालेको बताए ।
भुरुङ्ग-तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशविन्दु हो । म्याग्दीको नयाँ पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास भएको यो पदमार्ग पनि विपद्बाट बचेको छ । भुरुङ्ग-तातोपानीको होटल ब्यवसायी काजी थापाले बिहिबार करिब एक सय ५० जना आन्तरिक पर्यटकहरु अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका बताए ।
रुप्से झरना परिसरमा चियापसल सञ्चालन गरेकी छुमा पाइजाले करिब एक महिनापछि पर्यटकको चहलपहल हुन थालेको बताइन् ।






















