images
images
  • हर्मुज जलघाँटीमा बारुदी सुरुङमा ठोक्किएर तेल ट्याङ्करमा आगलागी

    काठमाडौं- इरानको रिभोलुसनरी गार्डस्ले सोमबार हर्मुज जलघाँटीमा एउटा तेल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको जनाएको छ । अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि इरानले महत्त्वपूर्ण समुद्री मार्गमा आफ्नो नियन्त्रण कडा बनाइरहेका बेला यो घटना भएको हो ।

    इरानी सरकारी सञ्चारमाध्यमले गार्डस्लाई उद्धृत गर्दै ट्याङ्कर समुद्रमा बिछ्याइएको बारुदी सुरुङमा ठोक्किँदा इन्जिन कक्षमा विस्फोट भई आगलागी भएको जनाएको छ । ट्याङ्करले इरानको अनुमति नलिई जलघाँटीको दक्षिणी भागमा रहेको निषेधित मार्ग प्रयोग गरेको र आफ्नो स्थान पहिचान तथा नौसञ्चालन प्रणाली बन्द गरेको गार्डस्को दाबी छ ।

    फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि इरानले हर्मुज जलघाँटीमा नियन्त्रण कायम गर्दै जहाजको आवागमनमा प्रतिबन्ध लगाएको छ । सामान्य अवस्थामा विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने यो जलघाँटीबाट पार हुन इरानको अनुमति लिनुपर्ने तेहरानको माग छ ।

    यसअघि पनि गार्डस्ले आइतबार दुईवटा तेल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएपछि आगलागी भएको जनाएको थियो । गार्डस्का नौसेना कमान्डर एडमिरल अली ओजमेईले यसै साता आफ्नो नौसञ्चालन प्रणाली निष्क्रिय पार्ने जहाजलाई ‘शत्रुतापूर्ण’ मानिने चेतावनी दिएका थिए ।

    हर्मुज जलघाँटीमा इरानले लगाएको अवरोधको जवाफमा अमेरिकाले इरानी तेल निर्यात रोक्ने उद्देश्यले नौसैनिक नाकाबन्दी लगाएको छ । यसले विश्वको महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्गमा तनाव थप बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images