काठमाडौं- ब्राजिलका राष्ट्रपति र उनका प्रतिस्पर्धीले अक्टोबर २५ को मतदानभन्दा एक हप्ता अघि भएको बहसमा एक-अर्कामाथि आरोप-प्रत्यारोपको वर्षा गरेका छन् ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र दक्षिणपन्थी सिनेटर फ्लावियो बोल्सोनारोले अत्यन्तै प्रतिस्पर्धात्मक मानिएको राष्ट्रपति पदको दोस्रो चरणको चुनावअघि भएको आफ्नो पहिलो बहसमै एक(अर्कामाथि व्यक्तिगत आरोपप्रत्यारोप सुरु गरेका हुन् ।
उक्त बहसमा दुवै जनाले एक-अर्कालाई पटक-पटक ‘झूटो’ भने, भ्रष्टाचारको आरोप लगाए, पुराना काण्डहरू उचाले र सार्वजनिक सुरक्षादेखि स्वास्थ्य सेवा जस्ता मुद्दाहरूमा बहस गरे ।
लुलाले बोल्सोनारोलाई ‘अभ्यस्त झुटा’ र ‘गुण्डा; भने ।
साथै उनले रियो दि जेनेरियोका अर्धसैनिक समूहहरूसँग बोल्सोनारोको कथित सम्बन्धलाई संकेत गर्दै मञ्चमा उनीबाट शारीरिक रूपमा केही दूरी बनाए र उनलाई ‘मिलिसियाम्यान’ भने ।
पहिलो चरणको चुनावमा लुलाको ४५ प्रतिशतका विरुद्ध ४७ प्रतिशत मत ल्याएर अगाडि रहेका बोल्सोनारोले लुलालाई टाढै राख्नु राम्रो हुने भन्दै व्यंग्य गरे, ‘किनकि मेरो वालेट चोरी हुन सक्छ।’
बहसभरि पूर्वराष्ट्रपति जाइर बोल्सोनारुका ४५ वर्षीय छोरा फ्लावियो बोल्सोनारो लुलाको पछाडि यताउता हिँडिरहे, टाउको हल्लाए र आफ्नो प्रतिस्पर्धीले बोल्दा व्यंग्यात्मक रूपमा मुस्कुराउँदै जिस्क्याइरहे ।
चौथो कार्यकालका लागि प्रयास गरिरहेका ८० वर्षीय लुलाले पूर्वराष्ट्रपति जाइर बोल्सोनारोसँग जोडिएको भ्रष्टाचार छानबिनका बारेमा स्पष्टीकरण मागे । तर उनका प्रतिस्पर्धीले सो प्रश्नलाई टारे ।
फ्लावियो बोल्सोनारोले लुलालाई ‘जोकर’ भनेर जवाफ फर्काए र लुलाका एक छोरासँग जोडिएको सम्भावित भ्रष्टाचार काण्डको प्रसङ्ग निकालेर बहसलाई अर्कैतिर मोडिदिए ।

जाइर बोल्सोनारो सन् २०२२ को चुनाव, जसमा उनी लुलासँग पराजित भएका थिए उल्टाउने प्रयासहरूसँग जोडिएका कारण २७ वर्षको जेल सजाय काट्ने क्रममा हाल घरमै नजरबन्दमा छन् ।
फ्लावियो बोल्सोनारोले ब्राजिलियनहरूको मुख्य चिन्ताको विषय बनेको महँगी अर्थात् जीवनयापनको लागत र अपराधको मुद्दालाई जोडतोडका साथ उठाए ।
उनले लुलामाथि पुनः निर्वाचित हुन सामाजिक कार्यक्रमहरूको घोषणा गर्दै ‘लापरबाहीपूर्ण खर्च’ गरेको आरोप लगाए ।
लुलाले भने बोल्सोनारोलाई अर्जेन्टिनाका दक्षिणपन्थी राष्ट्रपति हाभियर मिलेईले लागू गरेको व्यापक सार्वजनिक खर्च कटौतीको योजनालाई ब्राजिलमा कसरी अपनाउने सोच बनाएका छन् भन्दै प्रश्न गरे।

जब आफ्ना बुबाको पालामा भएको कोभिड १९ महामारी व्यवस्थापनको कुरा उठ्यो, बोल्सोनारोले स्वीकार गरे, ‘बोल्सोनारोको राष्ट्रपतीय कार्यकालमा हामीले उत्कृष्ट नतिजा देखेको क्षेत्र यो थिएन । म यसमा आफ्नो गल्ती स्वीकार गर्छु ।’
लुलाले आफ्ना प्रतिस्पर्धीलाई गरीब ब्राजिलियनहरूको वास्तविक जीवनबारे केही थाहा नभएको देखाउने प्रयास गरे । उनले बोल्सोनारोले कहिल्यै देशको सार्वजनिक स्वास्थ्य सेवा प्रयोग नगरेको वा बसमा नचढेको टिप्पणी गरे ।
‘मेरा प्रतिस्पर्धीलाई बसका बारेमा किताबबाट मात्रै थाहा छ। उहाँले कहिल्यै बसमा पाइला पनि टेक्नुभएको छैन। उहाँलाई श्रमको दुनियाँ कस्तो हुन्छ भन्ने अलिकति पनि ज्ञान छैन’, लूलाले भने ।
आइतबारको बहस अघि दुवै उम्मेदवारका समर्थकहरू आफ्नो समर्थन जनाउन ठूलो संख्यामा सार्वजनिक स्थानहरूमा भेला भएका थिए ।
बोल्सोनारोका समर्थकहरूले ब्राजिलको राष्ट्रिय रंग पहेंलो, हरियो र नीलो कपडा लगाएर साओ पाउलोको वित्तीय केन्द्र मानिने पाउलिस्ता एभिन्यु भरिएका थिए, जहाँ उम्मेदवार बोल्सोनारोले उक्त भेलालाई सम्बोधन गरे ।
लुलाका समर्थकहरूले उनको वर्कर्स पार्टीको प्रतीक रातो रंगको कपडा लगाएर ब्राजिलियाको सरकारी भवनहरू भएको क्षेत्र भरेका थिए भने राष्ट्रपतिलाई समर्थन गर्ने विद्यार्थीहरूले रियो दि जेनेरियोमा बोल्सोनारोविरुद्ध विरोध प्रदर्शन गरे ।
‘हामीलाई अहिलेकै सरकार सत्तामा निरन्तर चाहिन्छ । यदि अर्को सरकार आयो भने हाम्रो अवस्था एकदमै खराब हुनेछ’, ब्राजिलियाको र्यालीमा लुलाकी समर्थक सोनिया मारियाले भनिन् ।
‘मलाई डाँका र अपराधीहरू मन पर्दैन । लूला हट्नुपर्छ’, साओ पाउलोमा बोल्सोनारोकी समर्थक भेरा डि सोसाले भनिन् ।
साथै आइतबार नै ब्राजिलको संघीय प्रहरीले देशको सर्वोच्च अदालतसँग बोल्सोनारो नजिक रहेका एक वकिलसँग जोडिएको सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान सुरु गर्न अनुमति मागेको छ ।
यी राष्ट्रपति उम्मेदवार पहिले नै ड्यानियल भोर्कारोसँगको सम्बन्धलाई लिएर अनुसन्धानको घेरामा छन् । भोर्कारो एक बदनाम पूर्वबैंकर हुन्, जसले जाइर बोल्सोनारोको जीवनमा बनेको चलचित्रको खर्च जुटाएका थिए ।
लुलाले सन् २०१८ र २०१९ मा भ्रष्टाचारको मुद्दामा ५८० दिन जेलमा बिताएका थिए, जसलाई पछि अनुसन्धान र कानूनी प्रक्रियामा त्रुटि देखाउँदै रद्द गरिएको थियो ।
अक्टोबर २५ को दोस्रो चरणको चुनावका लागि सर्वेक्षणहरूले कडा टक्कर हुने देखाएका छन् । अक्टोबर ४ को पहिलो चरणमा लुलाभन्दा करिब २ प्रतिशतले अगाडि रहेका फ्लावियो बोल्सोनारोले थोरै अग्रता बनाएका छन् ।
दुवै उम्मेदवारले पहिलो चरणमा मतदान गर्न नगएका ३ करोड ३० लाख मतदातालाई आकर्षित गर्ने आशा गरेका छन्, जुन कुल योग्य मतदाताको करिब पाँच भागको एक भाग हो ।
अघिल्ला अवसरहरू दुवै उम्मेदवारले अस्वीकार गरेपछि आइतबारको बहस लुला र बोल्सोनारोबीचको पहिलो बहस थियो । दोस्रो चरणको मतदानको ठ्याक्कैअघि अक्टोबर २३ का लागि दोस्रो बहस तय गरिएको छ ।
-एजेन्सीहरुको सहयोगमा






















