images
images
  • फ्रान्समा हिंस्रक प्रदर्शनपछि गृहमन्त्रीले दिए राजीनामा, राष्ट्रपति म्याक्रोनले गरे अस्वीकार

    काठमाडौं- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले गृहमन्त्री लोरन्ट नुनेजको राजीनामा अस्वीकार गरेका छन् । शैक्षिक अवस्थाप्रति असन्तुष्ट विद्यार्थीहरू र महँगीबाट आक्रोशित समूहहरूले गरेको देशव्यापी प्रदर्शन व्यापक दङ्गा र लुटपाटमा परिणत भएपछि गृहमन्त्री नुनेजले राजीनामा दिएका थिए ।

    सोमबार राष्ट्रपति कार्यालयले जनाएअनुसार म्याक्रोनले प्रहरी र सुरक्षा निकायभित्रको चेन अफ कमान्ड कायम राख्न नुनेज आफ्नो पदमै रहनुपर्ने बताएका छन् । साथै राष्ट्रपति म्याक्रोनले गृहमन्त्रीलाई लुटेराहरूसँग जुध्न नयाँ तरिकाहरू तय गर्न आग्रह गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, राष्ट्रपतिले नुनेजलाई ‘हिंसा भड्किनुमा जिम्मेवार योजना र इन्टेलिजेन्ससम्बन्धी कमजोरीहरूमाझ पूर्ण पारदर्शिता सुनिश्चित गर्न आवश्यक सबै कदम चाल्न’ आग्रह गरेका छन् ।

    गृह मन्त्रालयका अनुसार शनिबारको प्रदर्शनमा २ हजार ३०० भन्दा बढी मानिसहरू पक्राउ परेका थिए । करिब १ हजार प्रहरी र सुरक्षाकर्मी घाइते भएको मन्त्रालयले जनाएको छ ।

    प्रदर्शनकारीहरूतर्फ पनि घाइते भएको खबर छ । जसमध्ये प्रहरीको भिड नियन्त्रण गर्ने ग्रेनेड लागेर एक प्रदर्शनकारीको हातै उडेको छ।

    यस देशव्यापी प्रदर्शनमा फ्रान्सेली शिक्षा प्रणालीमा सुधारको माग गर्ने विद्यार्थीहरू तथा महँगी र खस्किँदो सार्वजनिक सेवाप्रति विरोध जनाउने सर्वसाधारण एकै ठाउँमा भेला भएका थिए।

    शनिबार भएको प्रदर्शनमा ५ लाखभन्दा बढी मानिसहरू सहभागी भएका थिए। धेरै शहरहरूमा लुटपाट, आगजनी र सम्पत्तिको तोडफोड भएको थियो। नकावधारी उपद्रवीहरूले टाउन हल, प्रहरी चौकी र अन्य सरकारी भवनहरूमा आक्रमण तथा आगजनी गरेका थिए ।

    सोमबार नुनेजले प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रण गुमाएको कुरा स्वीकार गरेका छन् ।

    ‘शनिबार केही प्रमुख शहरहरूमा सयौँ पसलहरू लुटिएपछि पसलेहरूको आँखामा हेरेर हामीले नियन्त्रण गुमाएका थिएनौँ भनेर भन्न सक्ने अवस्था थिएन’, नुनेजले भने ।

    शनिबार सुरक्षा बल परिचालनमा ‘पूर्वअनुमानको कमी’ भएको स्वीकार गर्दै नुनेजले प्रदर्शनको आडमा उत्रेका दङ्गाकारी र लुटेराहरूको ठूलो भिडसँग जुध्न सुरक्षाकर्मीको संख्या अपर्याप्त रहेको बताए ।

    उनका अनुसार त्यस दिन देशभर करिब ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

    ‘भएको क्षतिलाई हेर्दा, मैले राजीनामा बुझाउनु नै उचित कदम थियो’, नुनेजले भने ।

    लुटपाट आइतबार पनि जारी रह्यो। पेरिसका मेयर इम्यानुएल ग्रेगोइरले सोमबार दिएको जानकारीअनुसार अघिल्लो दिन राजधानीमा करिब ३० वटा पसलहरूलाई निशाना बनाइएको थियो, जसलाई उनले ‘असह्य’ दृश्यका रूपमा वर्णन गरेका छन् ।

    नुनेजका अनुसार पेरिसमा आइतबार र रातभरिमा करिब ३५० जना पक्राउ परेका थिए ।

    कानुनमन्त्री जेराल्ड डार्मानिनका अनुसार सप्ताहन्तभरिमा देशभरबाट २ हजार ३३० भन्दा बढी मानिसहरूलाई प्रहरी हिरासतमा लिइएको थियो, जसमध्ये ७० प्रतिशत वयस्क थिए।

    यो हालैका वर्षहरूमा देशमा भएको सबैभन्दा ठूलो युवा नेतृत्वको विरोध आन्दोलन हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images