images
images
  • लामो बिदामा पारिवारिक भ्रमण गर्ने योजनामा हुनुहुन्छ ? यी हुन् १२ उपयुक्त गन्तव्य

    काठमाडौं– दसैं-तिहार जस्तो लामो बिदामा परिवारको साथमा कतै घुम्न जाने योजना त बनाउनु भएको छैन ? सधैँ कामको चाप र तनावबीच आफू पनि फ्रेस हुने र परिवारलाई केही दिन प्रकृतिको काखमा वा ऐतिहासिक सम्पदाको दृश्यावलोकन गराउने योजना बनाउनु भएको छ यी गन्तव्य तपाईंको रोजाइका हुन सक्छन् ।

    नेपालमा रमणीय गन्तव्यहरूको कुनै कमी छैन । कतै हिमालको काखमा सूर्योदय हेर्न पाइन्छ, कतै शान्त तालमा डुङ्गा सयर गर्न सकिन्छ । कतै बालबालिकालाई वन्यजन्तु, इतिहास र संस्कृतिसँग नजिकबाट परिचित गराउन सकिन्छ भने कतै धर्म र संस्कार सिकाउने तथा बुझाउने उपयुक्त ठाउँहरू प्रशस्त छन् ।

    परिवारको उमेर, रुचि, बजेट र उपलब्ध समयअनुसार गन्तव्य छान्न सकिन्छ । दसैं–तिहारसँगै अरु लामो बिदालाई अझ विशेष बनाउन परिवारसँग घुम्न, रमाउन र मीठा सम्झना सँगाल्न सकिने यहाँ नेपालकै १२ आकर्षक गन्तव्यबारे चर्चा गरिएको छ ।

    तालैतालको शहर पाखरा

    pokhara

    पोखरा परिवारसँग घुम्न जाने गन्तव्यमा सबैभन्दा पहिले सम्झन सकिने ठाउँ हो । फेवाताल र यसमा देखिने माछापुच्छ्रेको छायाँ, सराङकोटको सूर्योदय र लेकसाइडको झिलिमिली वातावरणले पोखराको यात्रालाई विशेष बनाउन सकिन्छ ।

    परिवारसँग फेवातालमा डुङ्गा सयर गर्न, तालको बीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्न र ताल किनारमा बसेर हिमालको सुन्दरता नियाल्न सकिन्छ । बालबालिकासँग अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, गुप्तेश्वर गुफा र डेभिड फल्स घुम्न जाँदा रमाइलोसँगै नयाँ कुरा सिक्ने अवसर पनि मिल्छ ।

    अलि साहसिक अनुभव चाहनेले मौसम र सुरक्षाको अवस्था हेरेर प्याराग्लाइडिङ वा जिपलाइनको आनन्द लिन सकिन्छ । ज्येष्ठ नागरिक र साना बालबालिका साथमा छन् भने ताल किनारमा आराम गर्ने, मनपर्ने परिकार खाने र परिवारसँग फोटो खिच्ने योजनाले पनि भ्रमण उत्तिकै यादगार बनाउँछ ।

    जङ्गल सफारीको आकर्षण चितवन

    jeep safari in chitwan national park boe4H4Gw2U

    बालबालिकालाई वन्यजन्तु, जङ्गल र प्रकृतिबारे प्रत्यक्ष अनुभव गराउन चाहने परिवारका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुञ्ज र सौराहा क्षेत्र, एकसिंगे गैँडा, मृग, विभिन्न प्रजातिका चराचुरुङ्गी र अन्य वन्यजन्तु अवलोकन गर्ने उत्कृष्ट गन्तव्य चितवन बन्न सक्छ ।

    चितवनमा परिवारसँग प्रकृतिमुखी सफारी, निर्देशित प्रकृति भ्रमण, थारू संस्कृति अवलोकन तथा स्थानीय परिकारको स्वाद लिन र राप्ती नदीको किनारमा सूर्यास्त नियाल्दै दिनभरको थकान मेटाउन सकिन्छ ।

    शान्ति र आध्यात्मिकताको केन्द्र लुम्बिनी

    lunbini

    कोलाहलबाट टाढा शान्त वातावरणमा परिवारसँग समय बिताउन चाहनेका लागि लुम्बिनी उपयुक्त गन्तव्य हुनसक्छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलका रूपमा परिचित यस क्षेत्रले शान्ति, करुणा र मानवताको सन्देश दिन्छ ।

    यहाँ मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र उद्यान र विभिन्न देशले निर्माण गरेका कलात्मक गुम्बाहरू अवलोकन गर्न सकिन्छ । फरक-फरक वास्तुकला र बौद्ध परम्पराको झलकले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई नयाँ अनुभव दिन्छ ।

    यहाँको शान्त वातावरणमा परिवारसँग विस्तारै घुम्ने, केही समय ध्यान गर्ने, सुन्दर बगैँचामा विश्राम लिने र तस्बिर खिच्ने अवसर पाइन्छ ।

    पुरानो बस्तीमा नयाँ अनुभूतिको थलो बन्दीपुर

    bandipur tourist

    तनहुँको बन्दीपुर मौलिक नेवारी वास्तुकला, ढुङ्गा छापिएका सडक, पुराना घर र मनोरम पहाडी दृश्यका कारण आकर्षक गन्तव्य बनेको छ । आधुनिक सहरको भागदौडबाट केही समय टाढा बसेर परिवारसँग शान्त बिदा मनाउन चाहनेका लागि यो सुन्दर विकल्प हुनसक्छ ।

    यहाँको पुरानो बजारमा हिँड्दै स्थानीय संस्कृति बुझ्न, परम्परागत घरहरूको बनोट नियाल्न र स्थानीय परिकारको स्वाद लिन सकिन्छ । मौसम सफा हुँदा वरपरका पहाडी भूभाग र हिमाली दृश्यले यात्रालाई थप रमणीय बनाउँछ ।

    हिमालपारिको अनुपम संसार जोमसोम र मुक्तिनाथ

    indian tourist muktinath1688624544

    दसैं-तिहारको आसपास मौसम अनुकूल भएमा मुस्ताङको यात्रा रोमाञ्चक हुन्छ । मरुभूमि जस्तो भूगोल, नीलगिरि र धौलागिरि हिमालका दृश्य, कालीगण्डकीको किनार र परम्परागत बस्तीको कारण मुस्ताङ अरू गन्तव्यभन्दा फरक हुनसक्छ ।

    परिवारसँग जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्र घुम्न सकिन्छ । मार्फाका परम्परागत घर र स्याउका बगैँचा हेर्नु, स्थानीय परिकारको स्वाद लिनु र हिमाली जीवनशैली बुझ्नु यात्राका विशेष आकर्षण हुन् । मुक्तिनाथ मन्दिर पुग्दा धार्मिक आस्थासँगै हिमाली भूगोलको अनुभव पनि लिन सकिन्छ ।

    तर मुक्तिनाथ उच्च स्थानमा पर्ने भएकाले साना बालबालिका, ज्येष्ठ नागरिक वा स्वास्थ्यसम्बन्धी विशेष आवश्यकता भएका सदस्यसँग यात्रा गर्दा थप सावधानी अपनाउनुपर्छ ।

    बादलमाथिको यात्रा गर्न कालिञ्चोक

    kalinchok

    दोलखाको कालिञ्चोक धार्मिक आस्था र हिमाली दृश्यको आनन्द एकैसाथ लिन सकिने गन्तव्य हो । कालिञ्चोक भगवतीको दर्शनसँगै मौसम सफा हुँदा वरपरका हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

    परिवारसँग छोटो बिदामा पहाडको चिसो हावा, प्राकृतिक दृश्य र धार्मिक यात्राको अनुभव लिन चाहनेका लागि यो आकर्षक विकल्प हो । केबलकार सञ्चालनमा रहेको अवस्थामा त्यसबाट दृश्यावलोकन गर्न सकिन्छ ।

    मिथिला संस्कृति बुझ्न जनकपुरधाम

    janakpur

    धार्मिक, सांस्कृतिक र ऐतिहासिक अनुभवलाई प्राथमिकता दिने परिवारका लागि जनकपुरधाम उत्कृष्ट गन्तव्य हुनसक्छ । जानकी मन्दिर यसको मुख्य आकर्षण हो । यहाँको मिथिला कला, परम्परागत संस्कृति, स्थानीय बजार र खानपानले यात्रालाई अझ स्वादिलो बनाउँछन् ।

    परिवारसँग जानकी मन्दिर दर्शन गर्ने, मन्दिर परिसरको वास्तुकला नियाल्ने, मिथिला चित्रकलाबारे बुझ्ने र स्थानीय परिकारको स्वाद लिने योजना लिएर जनकपुरधामको भ्रमण गर्न सकिन्छ । छठ पर्व वा अन्य धार्मिक अवसर आसपास जाने हो भने भीड र आवासको उपलब्धतालाई ध्यान दिनुपर्छ ।

    बालबालिकालाई मिथिला संस्कृति, राम-सीताको कथासँग जोडिएका परम्परा र स्थानीय कलाबारे बताउने राम्रो अवसर पनि हुनसक्छ यो यात्रा ।

    धर्तीमै स्वर्गको अनुभूति गर्न रारा ताल

    rara 2

    नेपालकै सबैभन्दा ठूलो ताल हो रारा । नीलो पानी, वरपरका हरिया वन, शान्त वातावरण र मौसमअनुसार बदलिने प्राकृतिक रङले रारा ताल विशेष देखिन्छ ।

    लामो बिदा उपलब्ध छ र यात्रा योजनाबद्ध गर्न सकिन्छ भने परिवारसँग रारा जानु जीवनभर सम्झनलायक अनुभव हुनसक्छ । तालको किनारमा हिँड्ने, प्राकृतिक दृश्य नियाल्ने, चराचुरुङ्गी अवलोकन गर्ने र सहरको कोलाहलबाट टाढा बसेर समय बिताउने यहाँका प्रमुख आकर्षण हुन् ।

    यद्यपि रारा पुग्न समय, खर्च र यातायातको योजना आवश्यक हुन्छ । साना बालबालिका वा ज्येष्ठ नागरिक साथमा छन् भने लामो यात्रा, उचाइ र स्वास्थ्य अवस्थालाई विशेष ध्यान दिनुपर्छ ।

    गुरुङ संस्कृतिसँग सामिप्य हुन घान्द्रुक

    ghandruk

    कास्कीको घान्द्रुक गुरुङ समुदायको संस्कृति, परम्परागत घर र अन्नपूर्ण हिमशृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न परिचित छ । प्रकृति, संस्कृति र गाउँले आतिथ्यको अनुभव लिन चाहने परिवारका लागि यो आकर्षक गन्तव्य हो ।

    यहाँ परम्परागत बस्तीमा घुम्न, स्थानीय खानाको स्वाद लिन, गुरुङ संस्कृतिबारे बुझ्न र मौसम सफा हुँदा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । स्थानीय होमस्टेमा बस्दा गाउँको जीवनशैलीसँग नजिक हुने अवसर पनि मिल्छ ।

    चियाबारीमा रम्न इलाम

    RKL FIKKAL KanyamChiyabari2 scaled

    पूर्वी नेपालको इलाम हरिया चियाबारी, डाँडाकाँडा, कुहिरोले ढाकिएका दृश्य र शान्त वातावरणका लागि लोकप्रिय छ । परिवारसँग प्रकृतिको आनन्द लिन र दैनिक व्यस्तताबाट केही समय विश्राम गर्न चाहनेका लागि इलाम सुन्दर गन्तव्य हो ।

    कन्यामको चियाबारीमा घुम्ने, श्रीअन्तुबाट सूर्योदय हेर्ने, माईपोखरीको प्राकृतिक वातावरण नियाल्ने र स्थानीय बजारमा चिया तथा अन्य उत्पादनबारे बुझ्ने योजनासहित इलामको भ्रमण गर्न सकिन्छ ।

    बालबालिकासँग चियाखेतीको प्रक्रिया बुझ्ने, खुला ठाउँमा समय बिताउने र परिवारका सदस्यसँग तस्बिर खिच्ने अवसर पनि पाइन्छ ।

    सूर्योदय र सूर्यास्त एकै ठाउँबाट हेर्न नगरकोट

    nagarkot

    काठमाडौं उपत्यका नजिकै रहेको नगरकोट छोटो बिदामा परिवारसँग घुम्न जान सकिने लोकप्रिय गन्तव्य हो । यहाँबाट मौसम सफा हुँदा हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । त्यस्तै बिहानको सुन्दर सूर्योदय र साँझ सूर्यास्त हेर्न सकिन्छ ।

    लामो यात्रा गर्न समय नहुने परिवारले एक वा दुई दिनको भ्रमणमा नगरकोट समेट्न सकिन्छ । शान्त वातावरणमा होटल तथा रिसोर्टमा बसेर परिवारसँग खाना खाने, खुला वातावरणमा समय बिताउने, तस्बिर खिच्ने र बिहानको शीतल हावामा रमाउने अनुभव यहाँको मुख्य आकर्षण हो ।

    इतिहास बुझ्दै प्रकृतिको आनन्द संगाल्न सिन्धुलीगढी

    sindhuligadhi

    इतिहास र प्रकृतिमा रुचि राख्ने परिवारका लागि सिन्धुलीगढीको भ्रमण गर्न सकिन्छ । नेपाल-अंग्रेज युद्धको इतिहाससँग जोडिएको यस क्षेत्रको भ्रमणबाट नेपालको वीरता, रणनीति र ऐतिहासिक घटनाबारे बुझ्ने अवसर दिन्छ ।

    परिवारसँग सिन्धुलीगढीका ऐतिहासिक संरचना अवलोकन गर्ने, सङ्ग्रहालय तथा उपलब्ध व्याख्यात्मक सामग्रीबाट इतिहास बुझ्ने र वरपरको प्राकृतिक दृश्यमा रमाउने योजना बनाउन सकिन्छ । बालबालिकाका लागि यो घुमघामसँगै पाठ्यपुस्तक बाहिरको सिकाइ पनि बन्न सक्छ।

    विशेष सुझाव

    भ्रमणमा निस्कनुअघि सडकको अवस्था र मौसम बुझ्नुसु । चिसो मौसममा यात्रा गर्दै हुनुहुन्छ भने चिसोबाट जोगिने कपडा लैजानुहोस् र उचाइमा असहज महसुस भएमा जबरजस्ती यात्रा गर्ने धृष्टता नगर्नुस् । कम्तीमा पाँचदेखि सात दिनको यात्रा योजना बनाउनुस् । सडक, उडान र मौसमसम्बन्धी जानकारी बुझेर आवासको व्यवस्था पहिल्यै मिलाउनुस् । हिँडडुल गर्न सहज हुने जुत्ता लगाउनुहोस् । साना बालबालिका र ज्येष्ठ नागरिकसँग जाँदा पदमार्गको अवस्था बुझेर कम हिँड्नुपर्ने विकल्प छान्नुस् ।

    व्यावहारिक दैनिक यात्रा तालिका बनाउनुस् । दृश्यावलोकन प्रभावित पार्न सक्ने भएकाले मौसम बुझेर यात्रा गर्नु राम्रो हुन्छ । सूर्योदय र सूर्यास्त हेर्न चाहनुहुन्छ भने मौसमको पूर्वानुमान हेर्नुस् । चाडपर्वको समयमा होटल तथा रिसोर्टमा भीड हुनसक्ने भएकाले अग्रिम बुकिङ गर्नु राम्रो हुन्छ । कतै चाडपर्वमा होटल तथा रिसोर्ट बन्द पनि हुन सक्ने भएकाले पूर्वजानकारी लिएर यात्रा गर्ने गर्नुस् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images