काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध प्रस्तावित प्रदर्शन रोक्न प्रहरीले शनिबार ३ हजारभन्दा बढीलाई नियन्त्रणमा लिएको छ।
कक्रोज जनता पार्टी (सीजेपी) ले जन्तरमन्तरमा आयोजना गर्न लागेको प्रदर्शनअघि प्रहरीले राजधानीका विभिन्न क्षेत्रमा सुरक्षा कडा पारेको थियो। ब्यारिकेड, चेकपोइन्ट र आवतजावतमा प्रतिबन्ध लगाइएको थियो।
नियन्त्रणमा लिइनेमा सीजेपीका नेता, युट्युबर ध्रुव राठी, दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीलगायत विपक्षी दलका नेता, विद्यार्थी, वकिल र कार्यकर्ता रहेका छन्।
प्रहरीले प्रदर्शनका लागि अनुमति नदिँदै विभिन्न स्थानबाट प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो। घटनाक्रमका क्रममा झडप र ढुंगामुढा हुँदा दुई प्रहरी कर्मचारी घाइते भएको खबर छ।
विपक्षी दलहरूले सरकारमाथि असहमतिका आवाज दबाएको र संवैधानिक अधिकार कटौती गरेको आरोप लगाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खर्गे र प्रियंका गान्धीले पनि प्रहरी कारबाहीको आलोचना गरेका छन्।
यता भारतीय जनता पार्टी (बीजेपी) ले भने प्रहरी कारबाहीको बचाउ गर्दै प्रदर्शनकारीहरूले अशान्ति फैलाउन खोजेको आरोप लगाएको छ। बीजेपीले मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) प्रक्रियाको पनि बचाउ गरेको छ।























