images
images
  • बाढीले पाँच झोलुङ्गे पुल पूर्ण क्षतिग्रस्त, पुनर्निर्माण प्रक्रिया सुरु

    काठमाडौं – हालैको बाढीले तनहुँका सार्वजनिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ । बाढीबाट जिल्लाका पाँच झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । केही पक्की पुल तथा कल्भर्टसमेत भत्किएका छन् ।

    जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढीबाट क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण तथा मर्मत प्रक्रिया सुरु गरिएको छ । समितिले स्थानीय तहका विपद् व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिस, जिल्ला प्रहरी कार्यालयको सिफारिस र जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा पुनर्निर्माण तथा मर्मतको काम तत्काल अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

    समितिका अध्यक्ष शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा मर्मत प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको राससलाई जानकारी दिए ।

    बाढीले घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । त्यस्तै, घिरिङ गाउँपालिका–१ को अत्रौलीदेखि कासिवन जोड्ने झोलुङ्गे पुल पनि पूर्ण रूपमा क्षति भएको छ ।

    यसैगरी, घिरिङ गाउँपालिका–४ र नवलपुरको बौदीकाली गाउँपालिका–२ अन्तर्गत मण्डारदेखि खरसङघाट जोड्ने झोलुङ्गे पुल तथा सोही वडाको करुवाटारदेखि माइतीघाट–मचेडी जोड्ने झोलुङ्गे पुलसमेत बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ ।

    देवघाट गाउँपालिका–२ र नवलपुरको बुलिङटार गाउँपालिका–१ जोड्ने खाल्टे–बुलिङटार झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ ।

    झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा स्थानीय बासिन्दाको आवतजावत तथा दैनिक जनजीवन प्रभावित भएको छ । नदी तथा खोलापारिका बस्तीलाई जोड्ने पुलमा क्षति पुगेपछि आवागमन सहज बनाउन पुनर्निर्माण तथा मर्मतलाई प्राथमिकता दिनुपर्ने देखिएको छ ।

    जिल्ला विपद् व्यवस्थापन समितिले क्षतिको विवरण र सम्बन्धित निकायको सिफारिसका आधारमा पुनर्निर्माण तथा मर्मत कार्य अघि बढाउन पहल गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images