images
images
  • ११ दिनपछि जोडियो पोखरेबगर पुलको पहुँचमार्ग, शनिबारसम्म पूर्ण सञ्चालनको लक्ष्य

    काठमाडौं – कालीगण्डकी नदीको बाढीले बगाएको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ । पहुँचमार्ग जोडिएसँगै बिहीबार साँझदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।

    अन्नपूर्ण गाउँपालिका–२ र ६ को सिमानामा रहेको पुलको पोखरेबगरतर्फको करिब २० मिटर पक्की पहुँचमार्ग बाढीले बगाएको थियो । पहुँचमार्ग बगाएपछि बेनी–जोमसोम–कोरला सडकमा यातायात आवागमन प्रभावित बनेको थियो ।

    बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार बगाएको पक्की पहुँचमार्गको विकल्पमा जगमा ग्यावियन पर्खाल निर्माण गरी ढुङ्गामाटो भरेर बिहीबार साँझ सडक पुनः जोडिएको हो ।

    पहुँचमार्ग जोडिए पनि सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन सतह मिलाउनेलगायतका काम बाँकी छन् । ती काम शनिबारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको शर्माले जानकारी दिए ।

    बाढीले क्षति पुर्‍याएको पहुँचमार्ग पुनः जोडिएपछि अत्यावश्यक सवारीसाधनको आवागमन सहज हुने अपेक्षा गरिएको छ । यद्यपि, बाँकी मर्मतकार्य सम्पन्न नभएसम्म नियमित र सुरक्षित यातायात सञ्चालनका लागि सडकको अवस्था हेरेर सावधानी अपनाउनुपर्ने देखिएको छ ।

    बेनी–जोमसोम–कोरला सडक चीनसँगको कोरलानाका जोड्ने महत्त्वपूर्ण मार्ग हो । यस सडकमा हुने अवरोधले मुस्ताङको आवागमन, पर्यटन तथा मालसामान ढुवानीमा प्रत्यक्ष असर पार्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images