काठमाडौं – दसैँमा घर जाने यात्रुको चाप बढेसँगै काठमाडौंको नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङ खुल्नुअघि नै यात्रुको लामो लाइन लागेको छ । सरकारले शुक्रबारदेखि दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि केही जिल्लाका यात्रु भने रातिदेखि नै टिकट लिन लाइनमा बसेका छन् ।
नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार यात्रु राति ९ बजेदेखि नै टिकट लिन लाइनमा बस्न थालेका हुन् ।
मल्लले बझाङ, बाजुरा र धनगढी जाने यात्रु रातिदेखि नै नयाँ बसपार्कमा आएर लाइनमा बसेको जानकारी दिए । दसैँमा घर जाने यात्रुको चापलाई व्यवस्थापन गर्न लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा १५ वटा टिकट काउन्टर थप गरेको छ ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
दसैँमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्ने भएकाले अग्रिम टिकट बुकिङ सुरु हुनुअघि नै यात्रु टिकट सुनिश्चित गर्न बसपार्क पुग्न थालेका हुन् । यात्रुको चाप बढेसँगै टिकट वितरणलाई व्यवस्थित बनाउन थप काउन्टर सञ्चालनमा ल्याइएको छ ।


विश्व खबर 



















