images
images
  • मालढुङ्गा पुलको पहुँचमार्ग अवरुद्ध हुँदा बागलुङको पर्यटन र व्यापार प्रभावित

    काठमाडौं – दसैँको समयमा पर्यटकले भरिभराउ हुने बागलुङका होटल तथा पर्यटकीय गन्तव्यमा यस वर्ष चहलपहल घटेको छ । बाढीले मालढुङ्गा पुलको पहुँचमार्ग बगाएपछि १२ दिनदेखि मुख्य सडकमा यातायात अवरुद्ध हुँदा पर्यटन, व्यापार र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा असर परेको हो ।

    असोज ११ गते कालीगण्डकीमा आएको बाढीले पर्वततर्फको पुलको पहुँचमार्ग बगाएपछि बागलुङ र पर्वतबीचको नियमित सडक सम्पर्क विच्छेद भएको छ । मालढुङ्गा हुँदै म्याग्दी र मुस्ताङ जाने मुख्य सडक अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर बागलुङको पर्यटन व्यवसायमा परेको छ ।

    दसैँका बेला कालिका मन्दिर, पञ्चकोट हुँदै ढोरपाटनसम्म घुम्न आउने पर्यटकका कारण बागलुङका होटल भरिभराउ हुने गर्थे । तर, यस वर्ष मुख्य सडक अवरुद्ध भएपछि पर्यटकको आगमन घटेको छ । अपेक्षित चहलपहल नहुँदा होटल व्यवसायी निराश बनेका छन् ।

    होटल व्यवसायी एन्जील शाक्यले मुख्य सडक अवरुद्ध हुँदा पर्यटकको आगमन प्रभावित भएको बताए । उनका अनुसार मुस्ताङ जाने पर्यटकको आवागमनले बागलुङको होटल व्यवसायलाई समेत चलायमान बनाउने गरेको थियो ।

    “मुख्य सडक नै छैन, पर्यटक कसरी आउँछन् रु मुस्ताङसँग सडक सम्पर्क नै विच्छेद भएको छ । मुस्ताङको प्रभावले बागलुङको होटल व्यवसाय चलायमान हुन्थ्यो,” उहाँले भन्नुभयो, “पुल सञ्चालनमा आउन जति ढिला हुन्छ, होटल व्यवसायी त्यति नै मारमा पर्छन् । वैकल्पिक बाटोबाट पर्यटक कमै आउने गरेका छन् ।”

    भारत र चीनलाई जोड्ने कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्गको महत्त्वपूर्ण सङ्गमस्थल मालढुङ्गामा सडक अवरुद्ध हुँदा बागलुङसँगै पश्चिम क्षेत्रको आवागमनसमेत प्रभावित भएको छ ।

    वैकल्पिक मार्गले ढुवानी खर्च बढायो

    मुख्य सडक अवरुद्ध भएपछि अहिले फलेवास–बलेवा हुँदै बागलुङ तथा मालढुङ्गा–बेनी हुँदै बागलुङसम्म वैकल्पिक मार्गबाट यात्रुवाहक बस र साना मालवाहक सवारी सञ्चालन भइरहेका छन् । लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्दा ढुवानीमा समय र खर्च दुवै बढेको व्यवसायीले बताएका छन् ।

    ग्यास विक्रेता हरि आचार्यका अनुसार वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा प्रतिसिलिन्डर १५० देखि १७० रुपैयाँसम्म अतिरिक्त खर्च लाग्न थालेको छ । ढुवानी खर्च बढेपछि बजारमा ग्यासको मूल्यसमेत १०० रुपैयाँले बढाउनुपरेको उहाँले बताए ।

    सडक अवरुद्ध हुँदा तरकारीलगायत खाद्यवस्तुको आपूर्तिमा समेत समस्या देखिन थालेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न, लत्ताकपडा तथा अन्य उपभोग्य वस्तुको आपूर्ति नियमित हुन नसक्दा स्थानीय बजार प्रभावित भएको छ ।

    स्वास्थ्य सेवामा समेत असर

    मुख्य सडक अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जीवनसँगै स्वास्थ्य सेवामा समेत समस्या उत्पन्न भएको छ । गम्भीर बिरामी तथा नियमित उपचारका लागि पोखरा जानुपर्ने नागरिकले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने वा केही दूरी पैदल हिँड्नुपर्ने अवस्था आएको छ ।

    लामो र घुमाउरो बाटोका कारण यात्रु तथा मालवाहक सवारीसाधनले अतिरिक्त समय खर्चिनुपरेको छ । सडक सम्पर्क विच्छेदले पर्यटन र व्यापारमा मात्रै नभई अत्यावश्यक सेवा तथा सर्वसाधारणको आवागमनमा समेत असर पारेको छ ।

    दसैँअघि पुल सञ्चालन गर्ने तयारी

    सडक डिभिजन कार्यालय पोखराले दसैँअघि नै मालढुङ्गा पुलको पहुँचमार्ग सञ्चालनमा ल्याउने गरी मर्मत तथा पुनःस्थापनाको काम तीव्र पारेको छ । बाढीले पुलको पहुँचमार्गमा करिब ३० मिटर सडक क्षति पुर्‍याएको छ ।

    सडक डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले चाडपर्व नजिकिँदै गएको र बागलुङमा खाद्यान्न, ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा असर पर्न थालेकाले चौबीसै घण्टा काम गरेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो ।

    कुल ११४ मिटर लामो मालढुङ्गा पुलको पहुँचमार्गमा क्षति पुगेपछि दुई जिल्लाबीचको नियमित सडक सम्पर्क विच्छेद भएको हो । यही मार्ग हुँदै मध्यपहाडी लोकमार्गमा जोडिएर बागलुङसँगै पूर्वी रुकुम र रोल्पातर्फ जाने यातायातसमेत प्रभावित भएको छ ।

    पुलको पहुँचमार्ग सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित व्यापार, पर्यटन र दैनिक उपभोग्य वस्तुको आपूर्ति क्रमशः सहज हुने अपेक्षा गरिएको छ । दसैँको मुखमा सडक सञ्चालनमा आउने वा नआउने विषयले बागलुङका पर्यटन तथा व्यापार व्यवसायीको चाडपर्वको कारोबारमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images