images
images
  • यमनमा लडाइँ चर्किँदा साउदीका विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु

    रियाद– यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबसमर्थित सरकारी सेनाबीच लडाइँ चर्किँदै गएपछि साउदी अरबका विमानस्थलमा भएका आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

    साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

    त्यस्तै, अब्हा विमानस्थलका संरचनामा भएको आक्रमणमा दुई जनाको मृत्यु तथा २८ जना घाइते भएका छन् ।

    प्राधिकरणका अनुसार एउटा आक्रमण मंगलबार र अर्को बुधबार भएको हो ।

    तर, कुन आक्रमण कुन दिन भएको हो भन्नेबारे भने स्पष्ट पारिएको छैन ।

    साउदी नेतृत्वको हुथीविरोधी गठबन्धनले आक्रमणको बदला लिने चेतावनी दिएको छ ।

    गठबन्धनले आक्रमण ‘दण्डविहीन नहुने’ भन्दै हुथी नियन्त्रणमा रहेका सादा, होदेइदाह, जाउफ र मारिब प्रान्तका ८० भन्दा बढी सैन्य क्षेत्रमा आक्रमण गरेको जनाएको छ ।

    एडेन विमानस्थलमा पनि क्षेप्यास्त्र र ड्रोन आक्रमण

    बुधबार यमनको एडेन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि हुथी विद्रोहीले ब्यालिस्टिक क्षेप्यास्त्र र विस्फोटक बोकेका ड्रोनमार्फत आक्रमण गरेका छन् ।

    यमनको यातायात मन्त्रालयका अनुसार इजिप्टको कायरोबाट आउँदै गरेको विमान अवतरण गर्नुभन्दा केही मिनेटअघि एउटा क्षेप्यास्त्र विमानस्थलको धावनमार्गनजिक खसेको थियो ।

    एडेन विमानस्थल हुथी नियन्त्रणबाहिर रहेका यमनका केही क्षेत्रमा अन्तर्राष्ट्रिय आवागमनको प्रमुख प्रवेशद्वार हो ।

    बाब अल–मन्देब आसपास निर्णायक लडाइँ

    यमनमा पछिल्ला दिनमा बाब अल–मन्देब जलडमरूमध्य आसपासको क्षेत्रमा लडाइँ केन्द्रित भएको छ ।

    यो समुद्री मार्ग अमेरिक–इरान द्वन्द्वका कारण होर्मुज जलडमरूमध्यबाट हुने व्यापारमा अवरोध बढेपछि ऊर्जा निर्यातका लागि अझ महत्वपूर्ण बनेको छ ।

    साउदी नेतृत्वको हवाई सहयोगमा यमनी सरकारी सेनाले सेप्टेम्बरमा हुथीहरूले कब्जा गरेका जलडमरूमध्य आसपास र मोखा क्षेत्र पुनः नियन्त्रणमा लिन प्रत्याक्रमण थालेका थिए ।

    तर सरकारी सेनाको अग्रसरता दीर्घकालीन रूपमा कायम रहन्छ कि रहँदैन भन्ने स्पष्ट भइसकेको छैन ।

    पश्चिमी मोर्चामा बाब अल–मन्देबलाई हेर्ने धुबाब क्षेत्रमा लडाइँ केन्द्रित छ ।

    यमनी सैन्य तथा सरकारी स्रोतका अनुसार सरकारसमर्थित सेनाले तटीय क्षेत्रको पूर्वतर्फ रहेका रणनीतिक पहाडी क्षेत्रमा अघि बढ्ने प्रयास गरिरहेका छन् ।

    सोमबार यमनी सरकारले मोखा पुगेको दाबी गरेको थियो ।

    तर, त्यहाँ रहेका यमनी सैन्य अधिकारी र विश्लेषकका अनुसार उक्त दाबी समयभन्दा अघि गरिएको थियो ।

    २ लाखभन्दा बढी मानिस विस्थापित

    यमनमा पछिल्लो चरणको लडाइँका कारण विस्थापित हुने मानिसको संख्या दुई लाखभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले जनाएको छ ।

    आईओएमकी महानिर्देशक एमी पोपले मानिसहरू ज्यान जोगाउन भागिरहेको तर सुरक्षित स्थानसमेत भेट्न नसकेको बताएकी छन् ।

    उनले बढ्दो मानवीय आवश्यकताका लागि थप अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन् ।

    लडाइँमा दुवै पक्षले सयौँ मानिस मारिएको दाबी गरे पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

    संयुक्त राष्ट्रसंघका अनुसार यमनका केही क्षेत्रमा प्रत्येक चारमध्ये तीन परिवार खाद्यान्न अभावको समस्यामा छन् ।

    साउदीविरुद्ध हुथीको लगातार आक्रमण

    हुथीहरूले यसअघि पनि साउदी अरबका विमानस्थल, तेल प्रशोधन केन्द्र र पाइपलाइनलगायत महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाउँदै आएका छन् ।

    साउदी अरब अमेरिकाको प्रमुख क्षेत्रीय सहयोगी हो ।

    बुधबार साउदी नेतृत्वको गठबन्धनले रियादको उत्तरतर्फ हुथीहरूले प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र रोकेर नष्ट गरेको जनाएको छ ।

    गठबन्धनका अनुसार क्षेप्यास्त्र प्रक्षेपण गरिएको स्थान साना क्षेत्रमा हुथीको नियन्त्रणमा रहेको थियो ।

    हुथीका सैन्य प्रवक्ता याह्या सारीले भने रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी आफूहरूले कैयौँ ड्रोन प्रहार गरेको बताएका छन् ।

    साउदीलाई टर्की र पाकिस्तानको सहयोग

    हुथीहरूले बाब अल–मन्देब जलडमरूमध्य नियन्त्रणमा लिएमा समुद्री व्यापार तथा विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने भन्दै साउदी अरबले अन्तर्राष्ट्रिय सहयोग खोजिरहेको छ ।

    दुई अधिकारीका अनुसार टर्कीले साउदी अरबलाई मुख्यतः रक्षात्मक तथा प्राविधिक सहयोग उपलब्ध गराउन थालेको छ ।

    यसअघि टर्की र पाकिस्तानले साउदी अरबसँग नयाँ सामूहिक रक्षा प्रतिबद्धता कार्यान्वयन गर्ने घोषणा गरेका थिए ।

    यसैबीच, हुथीविरुद्धको युद्धमा साउदी अरबलाई सैन्य सहयोग गर्ने विषयमा सिरियाले पनि विचार गरिरहेको अमेरिकी तथा सिरियाली अधिकारीहरूले बताएका छन् ।

    विचाराधीन विकल्पमा साउदी अरबलाई हुथी आक्रमणबाट जोगाउन रक्षात्मक सहयोग उपलब्ध गराउने वा हुथीविरुद्ध लडिरहेका साउदीसमर्थित यमनी सेनालाई सहयोग गर्न सिरियाली सेना परिचालन गर्ने विषयसमेत रहेको बताइएको छ ।

    अमेरिकी अधिकारीका अनुसार साउदी अरबले सिरियालाई हुथीविरुद्ध लड्न सेना पठाउन आग्रह गरेको छ ।

    तर, सिरियाली पक्षले भने आफ्नो प्राथमिकता गृहयुद्धपछि देशको पुनर्निर्माण र आन्तरिक विषयमा रहेको जनाएको छ ।

    २०१४ देखि जारी द्वन्द्व

    हुथीहरूले यमनको अधिकांश उत्तरी भू–भाग नियन्त्रणमा राखेका छन् ।

    उनीहरूले सन् २०१४ मा राजधानी साना कब्जा गरेपछि इरानको बढ्दो प्रभाव र आफ्नो सीमामा उत्पन्न अस्थिरताप्रति चिन्तित साउदी अरबको नेतृत्वमा सैन्य गठबन्धन यमनमा हस्तक्षेप गरेको थियो ।

    साउदी नेतृत्वको गठबन्धनले इरानले हुथीहरूलाई हतियार, तालिम र आर्थिक सहयोग उपलब्ध गराउँदै आएको आरोप लगाउँदै आएको छ ।

    हुथीहरूले भने आफूहरू इरानको क्षेत्रीय प्रतिनिधि समूह नभएको र आफ्ना हतियार आफैँ विकास गर्ने दाबी गर्दै आएका छन् ।

    इरानले पनि हुथीलाई हतियार तथा सैन्य सहयोग उपलब्ध गराएको आरोप अस्वीकार गर्दै आएको छ ।

    अमेरिका र इरानबीच जारी व्यापक द्वन्द्वको असरका रूपमा यमनमा पुनः तीव्र बनेको लडाइँले करिब १२ वर्षदेखि जटिल अवस्थामा रहेको युद्धलाई थप गम्भीर बनाएको छ ।

    यस द्वन्द्वले यसअघि नै यमनलाई विश्वकै गम्भीर मानवीय संकटमध्ये एकतर्फ धकेलेको थियो । –रोयटर्स

    प्रतिक्रिया दिनुहोस्
    images
    images