images
images
  • महाराज, मौसूफको आलोचना गरेर म किन बौलाएँ ?

    हुन त तपाईँलाई मैले यति आँट नगर्नु पर्ने हो। तपाईँको आसन वरिपरि घुमेर स्वर्गका गन्धर्वले जस्तो स्तुतिको बाजा बजाउनुपर्ने हो। किन कि भर्खरै तपाईँले राजा जस्तै गरेर तिमीहरूका पुराना अपराधलाई माफ गरिदिएँ भन्नुभएको छ। माफ पनि गरिदिनुभयो होला। आममाफी पनि दिनुभएको छ। तैपनि आज मेरो गर्धन किन चिलाएको होला? जोरी खोजौं, खोजौं जस्तो लागेको छ। तपाईँतिर औंला ठड्याउँ-ठड्याउँ जस्तो लागेको छ।

    विगतमा अपराध गरेकाहरूलाई ‘अब नगर’ भन्दै यत्रो ठुलो आममाफी दिने कम्युनिष्ट पार्टीको अध्यक्ष। अब मतिर औंलो नठड्याउनु भन्ने अध्यक्ष! देशको लोकतन्त्रको मियो बनेको एमाले पार्टीको अध्यक्ष! यसरी एक्कासि मेरा विगतका अपराधलाई माफी गरिदिएकोमा मैले पहिले राजा-महाराजाको आममाफी सम्झेँ। त्यसैले तपाईँ र राजाको छाती एउटै ठानेर मैले तपाईँलाई महाराजाधिराज सरकार भनेर सम्बोधन गरेको हुँ। तपाईँले दिएको माफीमा छुटेको एउटै शब्द थियो- प्यारा देशवासीहरू।

    मलाई थाहा छ तपाईँको नजरमा म आममाफीपछि फेरि एउटा अपराध गर्न गइरहेको छु। तपाईँतिर चोर औंलो उठाएर तपाईँको राज परम्परामा धावा बोल्न गइरहेको छु। मलाई थाहा छ, तपाईँको नजरमा म आममाफीपछि फेरि एउटा अपराध गर्न गइरहेको छु। तपाईँतिर चोर औंलो उठाएर तपाईँको राजपरम्परामा धावा बोल्न गइरहेको छु। थाहा छैन, आज मलाई किन यस्तो भइरहेछ कुन्नि । आफैंले श्रद्धा गरेको देश लोकतन्त्र र जनताको लागि कुनै बेला ठुलो योगदान गरेको नेतालाई किन म नाकै अगाडि औंलो ठड्याउन बाध्य भएको छु। तपाईँको शैली, तपाईँको कुर्सीमोह देखेर आज मलाई किन टाउको फनफनी घुमिरहेको छ। म आफैँलाई थाहा छैन। बरु मैले कवि श्रवण मुकारुङले लेखेको बिसे नगर्चीको बयान कविताको अंश हजुरको पाउमा चढाएँ-

    मालिक !
    म यो गोरखा राज्यमा
    अढाई सय वर्षपछि बौलाएँ ।
    मेरो टाउको फनफनी घुमिरहेछ
    जमिन आकाशतिर
    आकाश जमिनतिर भइरहेछ
    आँखा तिर्मिरतिर्मिर भएर
    हजुरको शिर दसवटा देखिरहेछु
    खोई मेरो पैताला कहाँनिर छ ?
    कहाँनिर छ बिसे नगर्ची ?
    मालिक !
    म बौलाएँ ।
    मैले त महाराजको सेवा गर्नुपर्ने
    इतिहासको रक्षा गर्न
    यो गोरखकालीको पाउ छोएर
    नुनको सोझो हुनुपर्ने
    अढाई सय वर्षपछि आज के भयो मलाई ?
    यो बिसेलाई दशा लाग्यो मालिक !
    म बौलाएँ ।

    नाथे मेरी स्वास्नी न हो मारिएकी
    नाथे मेरी छोरी न हो बलात्कृत भएकी
    नाथे यो बिसेको झुप्रो न हो जलाइएको
    यतिमै यो बिसे उफ्रिनुपर्ने ? थुइक्क बिसे…।
    म बौलाएँ मालिक !
    म बौलाएँ ।

    हो, ओली महाराज यो कविताले भने जस्तै म मौसूफसँग निहुँ खोजेर बौलाएँ। मैले गुण्डुमा गएर हजुरको अगाडि जी–हजुरी गर्नुपर्ने हो। बहुदलीय जनवादका कुरा गरेर हजुरको समय खेर नफाल्नुपर्ने हो। पार्टीभित्र आन्तरिक लोकतन्त्रका कुरा गरेर सरकारको समय खेर नफाल्नुपर्ने हो। पार्टीका सबै निकायका अधिवेशनमा हजुरले तोकेका मानिसलाई जिताउनुपर्ने थियो। तर त्यो मैले किन होला अवज्ञा गरेँ। किन कि म बौलाएँ।

    पार्टीभित्र पद्धतिका कुरा गरेर महाराजको मन दुखाएँ। मैले त हजुरका आदेशलाई नै पार्टीका आदेश भन्नुपथ्र्यो र मान्नुपथ्र्यो! हजुर नै महाधिवेशन, मौसूफ नै बैठक, सरकार नै विधान सम्मेलन, सरकारको निर्णय नै पार्टीको निर्णय भन्नुपथ्र्यो। हजुर नै लेनिन, हजुर नै कार्ल माक्र्स भन्नुपथ्र्यो। महाराज ओली, मैले त्यसो किन भनिनँ? हो, त्यसैले म बौलाएँ।

    मैले त हजुरले खोक्दा पनि नारायणगोपालको स्वर भन्नुपथ्र्यो। हजुर शौचालयभित्र पस्दा पनि कमरेड खिर पकाउन व्यस्त होइबक्सिन्छ भन्नुपथ्र्यो। भागवत गीतामा कृष्णले भने जस्तै ‘आज पनि मै हो, भोलि पनि मै हो, जगत पनि मै हो, सत्य पनि मै हो’ भन्ने हजुरलाई मैले औंला उठाउनु हुने थिएन। तर मैले किन औँला उठाएँ । किनकि म बौलाएँ।

    हजुरले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी कार्यालयमा प्रवेश निषेध गर्दा मैले मौसूफको कदम भन्दै समर्थन गर्नुपथ्र्यो। विवादमा परेको मीनबहादुर गुरुङले दिएको जग्गादानलाई हस्तिनापुर प्राप्त भएको भन्नुपथ्र्यो। त्यो मैले किन भनिनँ ? किनकि म बौलाएँ।

    मौसूफ आफैंले प्रस्ताव गरेको पार्टीभित्रको दुई वर्षे कार्यकाल पछि हटाउँदा मैले ताली बजाउनुपथ्र्यो । ७० वर्षे उमेरहद हजुरले राखौं भन्दा र हटाऔं भन्दा त्यसलाई महाराजाधिराजबाट बक्स भएको महावाणी भन्नुपथ्र्यो। तपाईँको मुड एन्ड मुभ र निर्णय सबै नै पार्टीका हुन् भन्नुपथ्र्यो। त्यसलाई मैले मान्न सकिनँ। किनकि म बौलाएँ।

    राजाको इच्छा पूरा नगर्ने प्रजा देशद्रोही हुन्। हजुर पार्टी अध्यक्षबाट तानाशाही एवम् निरङ्कुश राजामा परिणत भएको मैले थाहै पाइनछु। किनकि गुण्डु वा बालकोटको ढोका हामी जस्ता प्रजालाई दर्शन भेट गर्न खुला थिएन। त्यहाँ त हजुरको ‘दरबार सुरक्षा’ बटालियन नै तैनाथ थियो। त्यसैले सरकारको खास इच्छा राम्रोसँग बुझ्न पाइएन। त्यसैले नाकैमुनि औंला उठाउने दुस्साहस किन गरेँ? किनकि म बौलाएँ।

    पछिल्लो पल्ट आएर अब हजुरको इच्छालाई कसैले रोक्न सक्नेवाला छैन। अन्तिममा मौसूफको राजप्रासादको रक्षा गर्ने बटालियनले इच्छा रोक्न दिनेवाला छैन। नेपाली कांग्रेसमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरण चलिरहेको छ। उनीहरू एमालेका नेताहरू भएको भए यतिखेर (फाँसी) पार्टी कारबाहीमा परिसक्थे। अहिले कांग्रेसको लोकतन्त्र देखेर हजुरको कन्सिरी तातेको होला। किनकि छिमेकमा लागेको आगो आफूतिर पनि सल्कन्छ भनेर।

    महाराज’ कांग्रेसको रोग कतै एमालेभित्र छ भने चाँडै निर्मूल गरिबक्सियोस्। तपाईँको सिंहासनमा धावा बोल्नेहरूलाई चाँडै ठेगान लगाइबक्सियोस्। तपाईँको गाथगादीतिर नजर लगाउनेका आँखा निकालियोस्। किनकि त्यो तपाईँको जीवनकालभरि कायम रहने सिंहासन हो, जुन हजुरको सानो दुःखले आर्जेको होइन। पटक–पटक पार्टीभित्रको चुनावको लडाइँको घाउ सम्झँदा आफ्ना बटालियनलाई त्यो कुर्सी मृत्युपर्यन्त वार्षिक श्राद्धको सिधामा चढाइदेउ भनौं भनौं जस्तो लागेन होला र!

    तैपनि मैले किन हजुरको सिंहासनमा प्रश्न उठाएँ? किनकि म बौलाएँ।

    एमाले बाँचोस् या नबाँचोस्, मतलब छैन। तर हजुरको बटालियन यहाँभित्र मात्र एमाले देख्छ। हामी देशभरि एमाले देख्छौं। हजुर र हजुरको बटालियन त्यो कुर्सीमा महाराजबाहेक अरु बसेको देख्न चाहँदैन। यहाँको जीवनकालको अन्तिममा आर्यघाटमा पुगेको बेलामा पनि एमाले पोलेको खरानी हजुरको निधारमा घस्ने इच्छामा म किन अवरोध गरिरहेको छु? किनकि म बौलाएँ ओली महाराज !

    प्रतिक्रिया दिनुहोस्
    images
    images