काठमाडौं – इच्छाकामना गाउँपालिकामा निर्माण सम्पन्न भएको इच्छाकामना आधारभूत अस्पतालको नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरु गरिएको छ । सङ्घीय सरकारको १४ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको भवनमा १५ शय्या छन् ।
यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको पुरानो भवनबाट अस्पताल सञ्चालन हुँदै आएको थियो । नयाँ भवनबाट सेवा सुरु भएपछि बिरामीलाई स्वास्थ्य सेवा लिन थप सहज हुने अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल अधिकृत डा. अभिषेक लिम्बूका अनुसार नयाँ भवनबाट बहिरङ्ग सेवा, आकस्मिक सेवा, प्रयोगशाला, एक्स–रेलगायत सेवा नियमित रूपमा सञ्चालन हुनेछन् । अस्पतालले चौबिसै घण्टा आकस्मिक सेवा दिँदै आएको छ ।
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार पृथ्वी राजमार्ग तथा नारायणगढ–मुग्लिन सडकखण्डमा हुने सवारी दुर्घटनाका घाइतेसमेत अस्पतालमा उपचारका लागि आउने गरेका छन् । इच्छाकामना गाउँपालिकाका साथै छिमेकी स्थानीय तहका बिरामीले पनि अस्पतालबाट सेवा लिँदै आएका छन् ।
अस्पतालमा दक्ष जनशक्तिको अभाव भने कायमै छ । हाल पालिकाका दुई र बागमती प्रदेशको छात्रवृत्ति करारमा कार्यरत एक गरी तीन जना चिकित्सक छन् । आवश्यक जनशक्ति थप गर्न सङ्घीय सरकारसँग माग गरिएको डा. लिम्बूले बताए ।
अस्पतालमा समय–समयमा विशेषज्ञ चिकित्सक बोलाएर विशेषज्ञ सेवा पनि दिइँदै आएको छ । पहाडी भूगोलमा रहेको इच्छाकामना चितवनको एकमात्र गाउँपालिका हो । नयाँ भवनबाट सेवा सुरु भएपछि ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने आकलन गरिएको छ ।


विश्व खबर 



















