images
images
  • चाडपर्व लक्षित ललितपुर प्रहरीको विशेष सुरक्षा योजना, १ हजार भन्दा बढि प्रहरी परिचालन

    काठमाडौं – चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ललितपुर प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

    जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसपी गौतम मिश्रका अनुसार चाडपर्वमा मानिसको आवतजावत तथा सार्वजनिक गतिविधि बढ्ने भएकाले सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विगतका वर्षमा अपनाइएको सुरक्षा अभ्यासलाई थप प्रभावकारी बनाउँदै विशेष योजना लागू गरिएको हो ।

    योजनाअन्तर्गत दैनिक सुरक्षा ड्युटीमा १ हजार १५१ प्रहरी परिचालन हुनेछन् । कमान्ड फोर्ससहित चाडपर्व अवधिभर सुरक्षा व्यवस्थापनका लागि कुल १ हजार ३४९ प्रहरी परिचालन गरिने एसपी मिश्रले जानकारी दिएका छन् ।

    प्रहरीले भीडभाड हुने क्षेत्र, बजार, सार्वजनिक स्थल, मुख्य सडक तथा संवेदनशील स्थानमा निगरानी बढाउने भएको छ । चाडपर्वका समयमा मानिसको आवतजावत बढेसँगै चोरी, लुटपाट, सवारी दुर्घटना तथा झैँ–झगडाको जोखिम बढ्नसक्ने भएकाले त्यस्ता गतिविधिमाथि विशेष निगरानी राखिने प्रहरीले जनाएको छ ।

    सुरक्षा योजनाअन्तर्गत नियमित गस्ती, प्रहरीको प्रत्यक्ष उपस्थिति तथा संवेदनशील क्षेत्रमा निगरानी बढाइनेछ। सम्भावित घटना भएपछि मात्र प्रहरी परिचालन गर्नेभन्दा जोखिमयुक्त क्षेत्रमा सुरुदेखि नै प्रहरीको उपस्थिति बढाएर आपराधिक गतिविधि नियन्त्रण गर्ने रणनीति अपनाइएको प्रहरीको भनाइ छ ।

    ललितपुर प्रहरीले चाडपर्वका समयमा सर्वसाधारणलाई पनि आफ्नो घर, पसल तथा साथमा रहेका सामानको सुरक्षामा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। शंकास्पद व्यक्ति वा गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images