images
images
  • दसैँ–तिहारलाई लक्षित गर्दै लमजुङमा पाँच स्थानमा यात्रु सहायता कक्ष

    काठमाडौं – दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै लमजुङका विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। चाडपर्वका समयमा हुनसक्ने सवारी दुर्घटना, बढी भाडा असुली, टिकटमा हुने अनियमितता, चोरी तथा यात्राका क्रममा आइपर्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले बुधबारदेखि सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

    जिल्लाको मुख्य प्रवेशद्वार सुन्दरबजारको पाउँदी, सिउँडीबार चोक, मध्यनेपालको पाखुरीचोक, राइनासको धमिलीकुवा चोक र बेँसीसहर नगरपालिकाको भकुण्डे चालिसेचोकमा सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बुधबार भकुण्डे चालिसेचोक र पाउँदीमा सहायता कक्षको उद्घाटन गरे । उनले चाडपर्वका समयमा हुनसक्ने जोखिम न्यूनीकरण गर्दै नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिलाउन सहायता कक्ष प्रभावकारी हुने बताए । उनले सहायता कक्षमा खटिने प्रहरी तथा सुरक्षाकर्मीलाई नागरिकको सेवामा जिम्मेवार भएर काम गर्न आग्रह गरे ।

    प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले चाडपर्वका समयमा हुनसक्ने अपराध तथा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरी सक्रिय रूपमा परिचालन हुने बताए । यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन प्रहरी परिचालित हुने उनको भनाइ छ ।

    जिल्ला ट्राफिक प्रहरी प्रमुख गौतमबहादुर खत्रीका अनुसार पाँचवटै सहायता कक्षमा ट्राफिक प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली रहने व्यवस्था गरिएको छ । काठमाडौँ, पोखरा, चितवनलगायत स्थानबाट आउने यात्रु तथा सवारीसाधनलाई लक्षित गरी मुख्य सडक तथा नाकामा सहायता कक्ष सञ्चालन गरिएको उहाँले बताए ।

    सहायता कक्षमार्फत बढी भाडा असुली, टिकटमा हुने अनियमितता, सवारीसाधनको अवस्था, चोरी तथा यात्राका क्रममा आइपर्ने अन्य समस्यासम्बन्धी गुनासा सम्बोधन गरिनेछ। ट्राफिकसम्बन्धी विषयमा ट्राफिक प्रहरीले तथा अन्य प्रहरीसम्बन्धी विषयमा नेपाल प्रहरीले आवश्यक कारबाही गर्ने व्यवस्था मिलाइएको छ । यात्रुले सहायता कक्षमा उपलब्ध सम्पर्क नम्बरका साथै ट्राफिक प्रहरीको हेल्पलाइन १०३ र नेपाल प्रहरीको १०० मा समेत सम्पर्क गर्न सक्नेछन् ।

    आँगनमा दसैँ, आँखामा परदेशी सन्तानको प्रतीक्षा

    दसैँ नजिकिएसँगै लमजुङका गाउँघरमा चहलपहल बढेको छ। घरआँगन लिपपोत गर्ने, नयाँ कपडा किन्ने, मीठामसिनोको जोहो गर्ने र आफन्तजन भेला हुने तयारी भइरहेका छन् । रोजगारी, अध्ययन तथा अन्य कामका लागि देशविदेश पुगेका छोराछोरी घर फर्किन थालेपछि गाउँघरमा दसैँको रौनक थपिएको छ ।

    तर दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङका बुद्धिमान श्रेष्ठको मनमा भने दसैँको खुसीसँगै आफ्ना सन्तान घर फर्किने प्रतीक्षा पनि उस्तै छ । छिमेकीका घरमा परदेश गएका छोराछोरी फर्किन थालेका छन् । कतै परिवारका सदस्य घर आइपुग्दा खुसियाली छाएको छ भने कतै दसैँको तयारीले गाउँ झिलीमिली बन्दै गएको छ । यही माहोलमा आफ्ना छोराछोरी भने अझै घर नफर्किएकाले श्रेष्ठको मनमा चाडपर्वको खुसीसँगै खल्लोपन थपिएको छ ।

    श्रेष्ठका छोरा र छोरी दुवै रोजगारीका लागि विदेश गएको झन्डै दुई वर्ष भएको छ। छोरी दुई वर्षदेखि दुबईमा छन् भने छोरा विदेश गएको करिब डेढ वर्ष भयो । छोरी यसपालि दसैँमा घर आउने तयारीमा रहे पनि अहिलेसम्म निश्चित भएको छैन। छोरा भने छुट्टी मिलेमा घर आउने बताएको छ ।

    “रोजगारीका लागि पैसा कमाउन टाढा गएका छोराछोरीलाई चाडपर्वमा घरमा सँगै देख्न पाए हुन्थ्यो भन्ने लाग्दोरहेछ । सबैजना घरमा नहुँदा दसैँ केही खल्लोजस्तै हुँदोरहेछ । छोराछोरी सबै घरमा हुँदा पो दसैँ आएजस्तो, रमाइलो भएजस्तो लाग्छ,” श्रेष्ठले भने ।

    अरूका छोराछोरी घर फर्किएर परिवारसँगै दसैँ मनाउने तयारी गरिरहँदा आफ्ना सन्तानको सम्झना झन् बढी आउने उ बताउछन् ।

    राइनास नगरपालिका–८ की लालमाया श्रेष्ठको अनुभव पनि उस्तै छ । उनका छोरा काठमाडौँमा जागिर गर्छन् । गत वर्ष घर आउन नसकेका छोरा यसपालि छुट्टी मिलेमा परिवारसँगै दसैँ मनाउने तयारीमा छन् ।

    “विदेशमै हुनुपर्छ भन्ने रहेनछ, नजिकै काठमाडौँमा भए पनि दसैँमा परिवारसँग नहुँदा टाढा, परदेशमै भएजस्तो महसुस हुँदोरहेछ । आफ्नो मान्छे साथमा नहुँदा चाडपर्वको खुसी पनि अधुरोजस्तो लाग्छ,” उनले भने ।

    यसपालि छोरा घर आएर परिवारसँगै दसैँ मनाउन पाउने आशामा रहेको उहाँले बए । “छुट्टी मिल्छ र आउँछु भनेको छ, त्यसैले यसपालि सँगै हुन्छौँ कि भनेर हेरिरहेका छौँ,” उनले भने ।

    मस्र्याङ्दी गाउँपालिकाकी सरिता गुरुङका दुई छोरा भारतमा रोजगारीमा हुनुहुन्छ भने छोरी अस्ट्रेलियामा छन् । अहिले घरमा उनि र श्रीमान् मात्रै हुनुहुन्छ। दसैँको माहोल सुरु भइसके पनि छोराछोरी टाढा हुँदा चाडपर्वको खुसी अधुरोजस्तो लाग्ने उहाँ बताउनुहुन्छ।

    “आमाको मन हो, छोराछोरी साथमा नहुँदा दसैँ अलि खल्लो हुँदोरहेछ। दसैँ आँगनमै आइसकेको छ तर छोराछोरी परदेशमा छन्,” गुरुङले भने ।

    यसपालि छोराछोरी घर आउने–नआउने निश्चित नभएको उहाँले बताए । समय मिले आउने र नमिले अर्को वर्ष आउने कुरा भएको उहाँको भनाइ छ । “चाडपर्वको बेला त झन् छोराछोरीको सम्झना बढी आउँदोरहेछ । हामी त उनीहरूलाई पर्खेरै बसेका छौँ । समय मिल्यो भने यसपालि सँगै दसैँ मनाऔँ, रमाइलो गरौँ भन्नेमा छौँ,” उनले भने।

    दसैँ परिवारसँगको भेटघाट, आत्मीयता र खुसी साटासाट गर्ने पर्वका रूपमा लिइन्छ। रोजगारी, अध्ययन वा अन्य कारणले सन्तान टाढा हुँदा आमाबुबाको प्रतीक्षा अझ गहिरो बन्ने गरेको छ । फोन र भिडियो कलले दूरी केही घटाए पनि सँगै बसेर टीका लगाउने र सुखदुःख साट्ने चाहना भने पूरा हुन नसकेको उनीहरूको अनुभव छ ।

    गाउँघरमा दसैँको रौनक बढ्दै गएको छ । परदेश तथा सहरबाट फर्किएका सन्तानका कारण कतिपय घरमा खुसी छाएको छ भने कतिपय आमाबुबा आफ्ना सन्तान फर्किने बाटोतिर आँखा लगाएर बसेका छन्। उनीहरूको एउटै चाहना छ—यसपालिको दसैँमा टाढा रहेका आफ्ना सन्तान घर फर्किऊन् र लामो समयदेखि प्रतीक्षामा रहेको आँगन फेरि परिवारको हाँसोले भरियोस् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images