काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि आर्थिक दबाब बढाउने उद्देश्यले ल्याइएको नयाँ प्रतिबन्धसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन् ।
कङ्ग्रेसका दुवै सदनबाट पारित भएको उक्त कानुनले रुसको ऊर्जा तथा रक्षा क्षेत्र, रुसी अधिकारी र मस्कोको प्रतिबन्ध छल्न प्रयोग हुने ‘छाया फ्लीट’का पानीजहाजलाई लक्षित गरेको छ ।
यसले रुसी तेल तथा ग्यासका प्रमुख विदेशी खरिदकर्तामाथि शत प्रतिशतसम्मको भन्सार महसुल लगाउने अधिकारसमेत राष्ट्रपतिलाई दिएको छ ।
कानुनले रुसको तेल तथा ग्यास खरिद जारी राख्ने निश्चित विदेशी मुलुकबाट आयात हुने वस्तुमा अतिरिक्त महसुल लगाउन सकिने व्यवस्था गरेको छ ।
भारत र चीनजस्ता रुसका प्रमुख ऊर्जा खरिदकर्ता यस व्यवस्थाको दायरामा पर्न सक्नेछन् ।
यद्यपि सत प्रतिशतको भन्सार महसुल तत्काल स्वतः लागू हुने नभई निश्चित कानुनी सर्त पूरा भएपछि प्रशासनले त्यस्तो कदम चाल्न सक्ने व्यवस्था गरिएको छ ।


विश्व खबर 



















