images
images
  • पाल्पा कारागारका कैदीबन्दीदेखि तनहुँका संस्थासम्म, भोटेकोशी बाढीपीडितलाई सहयोग

    काठमाडौं– पाल्पा कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि ८३ हजार रुपैयाँ सहयोग गरेका छन् ।

    कारागारमा रहेका २२४ पुरुष र १३ महिला गरी २३७ कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् ।

    कारागारका प्रशासक भगवानभक्त अर्यालका अनुसार कैदीबन्दीले कारागारभित्र गर्दै आएको सीपमूलक तथा उद्यमशील कामबाट आर्जन गरेको रकममध्ये केही हिस्सा सहयोग गरेका हुन् । उनीहरूले मुढा बनाउने, सिलाइबुनाइ, डोको–नाम्लो तथा बात्ती बनाउनेलगायतका काम गर्दै आएका छन् ।

    “हामी जहाँ भए पनि समाजकै सदस्य हौँ भन्ने भावनाका साथ कैदीबन्दीले सहयोग गरेका हुन्,” अर्यालले भन्नुभयो, “सहयोगको आकार ठूलो नहुन सक्छ, तर विपद्का बेला पीडितप्रति देखाएको मानवीय समवेदना अर्थपूर्ण छ ।”

    यसैबीच तनहुँका दुई सामाजिक संस्थाले पनि भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेका छन् ।

    नेपाल मगर सङ्घ भिमादले १ लाख ९५ हजार रुपैयाँ सहयोग गरेको छ। सङ्घका अध्यक्ष ज्ञानबहादुर थापाका अनुसार सदस्यबाट रकम सङ्कलन गरी उक्त सहयोग गरिएको हो ।

    त्यस्तै, ढोर फिरफिरे तमु समाजले १ लाख ५६ हजार ५१५ रुपैयाँ सहयोग गरेको छ । समाजका अध्यक्ष नन्दलाल गुरुङका अनुसार सदस्यबाट स्वेच्छिक रूपमा रकम सङ्कलन गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images