images
images
  • भद्रपुर भन्सारले दुई महिनामै वार्षिक लक्ष्यको १७.७५ प्रतिशत राजस्व उठायो

    काठमाडौं– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

    कार्यालयले साउन र भदौमा गरी रु चार करोड ६६ लाख ४९ हजार ५४० राजस्व सङ्कलन गरेको हो । यो दुई महिनाका लागि तोकिएको कुल लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत हो ।

    भद्रपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत प्रभुनारायण मेहताका अनुसार सीमा क्षेत्रमा हुने चोरी–पैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेपछि वैधानिक भन्सार नाकाबाट हुने आयातमा वृद्धि भएको छ । त्यसको प्रभाव राजस्व सङ्कलनमा परेको उहाँले बताए ।

    विशेषगरी साडी, कुर्तासलवारलगायत कपडाको आयात बढेकाले भन्सार राजस्वमा सुधार आएको मेहताले जानकारी बताए ।

    भदौ महिनामा कार्यालयले रु दुई करोड १० लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर लक्ष्यभन्दा रु एक करोडभन्दा बढी अर्थात् रु तीन करोड १६ लाख १५ हजार ४२२ राजस्व सङ्कलन भएको छ । यो मासिक लक्ष्यको १५० दशमलव ३८ प्रतिशत हो ।

    त्यसअघि साउन महिनामा कार्यालयले रु एक करोड ५० लाख ३४ हजार ११८ राजस्व सङ्कलन गरेको थियो ।

    चालु आर्थिक वर्षका लागि भद्रपुर भन्सार कार्यालयले रु २६ करोड २८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ। दुई महिनामै सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको १७ दशमलव ७५ प्रतिशत हो ।

    भ्याटबाट सबैभन्दा बढी राजस्व

    पहिलो दुई महिनामा सङ्कलन भएको कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा मूल्य अभिवृद्धि करबाट आएको छ ।

    कार्यालयका अनुसार मूल्य अभिवृद्धि करबापत रु दुई करोड २० लाख एक हजार १५६ सङ्कलन भएको छ ।

    त्यस्तै, भन्सार महसुलबाट रु एक करोड ८४ लाख १२ हजार ३२३, अन्तःशुल्कबाट रु ६२ लाख ७७ हजार २९६ र कृषि सुधार शुल्कबाट रु १३ लाख २२ हजार ३८९ सङ्कलन भएको छ ।

    गत वर्ष लक्ष्य पूरा हुन सकेन

    गत आर्थिक वर्ष २०८२/८३ मा भने भद्रपुर भन्सार कार्यालयले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन ।

    गत आवमा रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्रै सङ्कलन भएको थियो । यो वार्षिक लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत हो ।

    चालु आवको सुरुआती दुई महिनामा भने लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएपछि भन्सार कार्यालयले बाँकी अवधिमा समेत लक्ष्य हासिल गर्ने अपेक्षा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images