images
images
  • मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महाशंकर रेग्मी पक्राउ

    काठमाडौं । मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको रकम हिनामिना तथा ठगीसम्बन्धी कसुरमा संस्थाका अध्यक्ष महाशंकर रेग्मी पक्राउ परेका छन् ।

    बझाङको छविसपाथिभरा गाउँपालिका–४ झुटेडा स्थायी घर भएका ३६ वर्षीय रेग्मीलाई काठमाडौंको चण्डोलबाट बुधबार पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जानकारी दिएको छ । अध्यक्ष रेग्मी हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ शान्तिटोलमा बस्दै आएका थिए ।

    पक्राउ परेका रेग्मीलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार मेगा ड्रिम बहुउद्देश्यीय संस्था लिमिटेडको रकम हिनामिना भएको भन्दै विभिन्न जाहेरीका आधारमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । रामचन्द्र सिपाईसहित १६२ जनाको जाहेरीबाट २१ करोड ५६ लाख ९३ हजार ६६९ रुपैयाँ र थप ५९ जनाको जाहेरीबाट २ करोड ६२ लाख ३६ हजार १७१ रुपैयाँ हिनामिना भएको आरोपमा अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, १५६ जनाको जाहेरीका आधारमा १५ करोड ४ लाख ८६ हजार ३ रुपैयाँ ६५ पैसा हिनामिना गरेको आरोपमा समेत प्रहरी वृत्त बालाजुमार्फत अनुसन्धान भइरहेको छ ।

    प्रहरीका अनुसार उक्त ठगीसम्बन्धी कसुरमा हालसम्म थप ४६ जनाको जाहेरी प्राप्त भइसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images