images
images
  • आकर्षक तलबको प्रलोभनमा वैदेशिक रोजगारीको रकम ठगी गर्ने तीन जना पक्राउ

    काठमाडौं – आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तेह्रथुम घर भई काठमाडौंको टोखा नगरपालिका–५ बस्ने ३५ वर्षीय नगेन्द्र भेटवाल, बर्दिया घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने ४४ वर्षीय समुन्द्रबहादुर थापा र पाँचथर घर भई कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ४४ वर्षीय कुमार खतिवडा रहेका छन् ।

    प्रहरीका अनुसार नगेन्द्रले जापान पठाइदिने भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ लिएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए ।

    त्यस्तै, समुन्द्रले कम्बोडिया पठाइदिने भन्दै एक जना पीडितबाट ७ लाख रुपैयाँ लिएको र कुमारले संयुक्त अरब इमिरेट्स पठाइदिने भन्दै एक जना पीडितबाट १ लाख रुपैयाँ लिएको उजुरी परेको प्रहरीले जनाएको छ ।

    रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    प्रहरीले नगेन्द्रलाई सोमबार काठमाडौंको टोखा नगरपालिका–५ बाट पक्राउ गरेको हो । समुन्द्रबहादुरलाई मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–९ बाट र कुमारलाई कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images