काठमाडौं – गत वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त बनेको सर्वोच्च अदालतको मुद्दा फाँटमा फेरि आगलागी भएको छ ।
मंगलबार राति विद्युत् सर्ट भएर आगलागी भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
आगलागीबाट मुद्दा फाँटमा रहेका टेबल, कुर्सी र तीनवटा कम्प्युटरमा क्षति पुगेको छ । आगलागी भए पनि महत्वपूर्ण मिसिल तथा फाइलहरू सुरक्षित रहेको प्रवक्ता कोइरालाले बताए ।
ढोका बन्द रहेको अवस्थामा आगलागी भएकाले घटना तत्काल थाहा हुन नसकेको र कार्यालय खोल्ने क्रममा मात्रै आगलागी भएको जानकारी पाइएको उनको भनाइ छ ।
सर्वोच्च अदालतका अनुसार प्रारम्भिक जानकारीमा विद्युत् सर्ट भएर आगलागी भएको देखिएको छ । घटनाबाट महत्वपूर्ण न्यायिक अभिलेखमा भने क्षति नपुगेको जनाइएको छ।
गत वर्ष २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सर्वोच्च अदालतको मुख्य भवनमा ठूलो क्षति पुगेपछि अदालतले एनेक्स भवन र निर्माणाधीन नयाँ भवनबाट आफ्नो काम सञ्चालन गर्दै आएको छ ।
आगलागी भएको मुद्दा फाँट पनि सोही क्रममा क्षतिग्रस्त बनेको भवनमा रहेको थियो । पछिल्लो घटनापछि अदालत परिसरको विद्युत् प्रणाली तथा सुरक्षा व्यवस्थामाथि समेत पुनः ध्यान दिनुपर्ने अवस्था देखिएको छ ।


विश्व खबर 



















