काठमाडौं– दुई वर्षअघि कुवेतबाट नेपाल फर्किएका बालक चन्द्रवंशी अहिले व्यावसायिक तरकारी खेतीबाट वार्षिक करिब ४० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
विदेशबाट फर्किएपछि उनले ५० हजार रुपैयाँ लगानी गरेर कृषि पेसा सुरु गरेक थिए । अहिले उहाँले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।
पहिले उन्को अधिकांश बारी बाँझै रहने गरेको थियो । घरमा काम गर्ने जनशक्ति नहुँदा थोरै जग्गामा धान र मकै खेती गर्ने गरिएको थियो । उत्पादन घरायसी उपभोगका लागि पुग्ने भए पनि नगद आम्दानी नहुने उनले बताए ।
“नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन,” उनले भने, “अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।”
चन्द्रवंशीले करिब अढाई बिघा क्षेत्रफलमा गोलभेँडा खेती गर्दै आएको छ । बाँकी जग्गामा काँक्रो, बोडी, घिरौँला, खुर्सानीलगायत मौसमअनुसारका तरकारी उत्पादन गर्दै आउनुभएको छ ।
उनका अनुसार मौसमले साथ दिँदा उत्पादन राम्रो हुन्छ । सिँचाइको उचित व्यवस्थापन गर्न सके तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ । दैनिकजसो तरकारी बिक्री हुने भएकाले आम्दानी पनि नियमित हुने गरेको उनको अनुभव छ ।
गोलभेँडामा बढी जोड
चन्द्रवंशीले गोलभेँडा खेतीलाई बढी प्राथमिकता दिनुभएको छ। आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने भएकाले टाढाका बजारमा पठाउन सहज हुने उहाँ बताउछन् ।
“भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न सुरु गरिन्छ भने कात्तिकको अन्तिम सातादेखि टिप्न थालिन्छ,” उनले भने, “अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेको छ ।”
उनले गोलभेँडाका केही कलमी बिरुवा भारतबाट ल्याएर रोप्ने र बाँकी बिरुवा आफैँ उत्पादन गर्ने गरेको छ । अन्य तरकारीका बिरुवा भने स्थानीय बजारबाट खरिद गर्ने गरेको उनले बताए।
उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था पनि नरहेको उनको भनाइ छ । धनकुटा, झापा, उदयपुर, धरान, इटहरी र इनरुवालगायतका स्थानबाट व्यापारीहरू बारीमै आएर तरकारी खरिद गरी लैजाने गरेका छन् ।
सडक तथा यातायातको पहुँचका कारण उत्पादित तरकारी बजारसम्म पुर्याउन सहज भएको उहाँ बताउन् ।
खेतीमा ३० जनासम्म कामदार
चन्द्रवंशीको खेतीमा वर्षभरि जालादारीतर्फ १२ जनाभन्दा बढी कामदारले काम गर्ने गरेका छन् । भदौको अन्तिम सातादेखि वैशाखसम्म भने दैनिक २० देखि ३० जनासम्म कामदारलाई रोजगारी दिने गरिएको उनले जानकारी दिए ।
कामदारलाई मासिक १८ हजारदेखि २० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गरिएको छ ।
“श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार पाउन गाह्रो छ,” उनले भने, “अहिले सप्तरीबाट कामदार ल्याएर खेतीमा काम लगाएको छु ।”
तरकारी खेतीसँगै उहाँले करिब अढाई बिघा क्षेत्रफलमा मकै खेतीसमेत गर्दै आएको छ । मकै बिक्रीबाट मात्रै वार्षिक करिब चार लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए।
कृषिबाट भएको आम्दानीबाट उहाँले प्रकाशपुरमा पाँच कठ्ठा जग्गासमेत खरिद गरेको छ ।
‘विदेश जानुभन्दा आफ्नै देशमा काम गर्नु राम्रो’
कृषिबाट राम्रो आम्दानीसँगै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकेकामा चन्द्रवंशी सन्तुष्ट रहेको बताउछन् ।
“गाउँमै राम्रो कमाइ छ । रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु । राम्रो व्यवसायी भनेर चिनेका छन् । नाम पनि, अनि दाम पनि,” उनले भने ।
उहाँको खेतीमा विगत चार वर्षदेखि काम गर्दै आउनुभएका सप्तरीका राजकुमार पनि गाउँमा रोजगारीको अवसर नहुँदा यहाँ आएर काम गर्नुपरेको बताउनुहुन्छ ।
“आफ्नो गाउँमा पर्याप्त खेतीपाती गर्ने बारी छैन । त्यहाँ काम पनि पाइँदैन,” उहाँले भन्नुभयो, “यहाँ आएर काम गरिरहेको छु । रोजगार पाएकोमा खुसी छु ।”
विदेशमा गएर काम गर्नुभन्दा स्वदेशमै काम गर्दा बचत गर्न सहज हुने उनको अनुभव छ ।
“विदेशमा दुःख गरेर ४०–५० हजार रुपैयाँ कमाए पनि आफैँलाई खर्च पु¥याउन गाह्रो हुन्छ,” राजकुमारले भन्नुभयो, “नेपालमा १५–२० हजार रुपैयाँ कमाइ भए पनि सबै रकम बचत गर्न सकिन्छ ।”
विदेशबाट फर्किएर सीमित लगानीबाट सुरु गरेको कृषि व्यवसायलाई विस्तार गर्दै चन्द्रवंशीले अहिले आफ्नै आम्दानीसँगै स्थानीय तथा बाहिरी जिल्लाबाट आएका कामदारलाई समेत रोजगारी दिइरहेको छ । उनको अनुभवले व्यावसायिक कृषि, बजारको पहुँच र नियमित उत्पादन हुन सके स्वदेशमै कृषि पेसाबाट आम्दानीको सम्भावना रहेको देखाएको छ ।


विश्व खबर 



















