images
images
  • मुस्ताङमा घरपझोङ जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै

    काठमाडौं– मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम रहेको छ ।

    सम्मेलनमा सहभागी हुन सातै प्रदेशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधिसहित ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि मुस्ताङ पुगेका छन् ।

    घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार सोमबार साँझसम्म दुई हजारभन्दा बढी अतिथि मुस्ताङ आइपुगेका छन् । सम्मेलनमा सहभागी अतिथिका लागि स्थानीय होटलमा बसोबासको व्यवस्था गरिएको छ ।

    सम्मेलन व्यवस्थापनका लागि गाउँपालिकाका पाँचवटै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा विभिन्न सङ्घसंस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिइन् ।

    उनका अनुसार सम्मेलनमा सहभागी अतिथिका लागि बिहानको खाजा, खाना तथा दिउँसोको खाजा सम्मेलनस्थलमै आमा समूहका टोलीले व्यवस्थापन गर्नेछन् । बेलुकीको खाना र बसोबास भने गाउँपालिकाले तोकेका होटलमा व्यवस्था गरिएको छ ।

    सम्मेलनलाई व्यवस्थित र आकर्षक बनाउन गाउँपालिकाका पाँचवटै वडाका सडक तथा बस्तीलाई स्थानीय मौलिक कला र संस्कृतिसहितका ध्वजापताकाले सजाइएको छ । मुख्य राजमार्ग तथा भित्री सडकमा सडकबत्ती जडान गरी उज्यालो बनाइएको गाउँपालिकाले जनाएको छ ।

    आगन्तुकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ । खानेपानी, इन्टरनेट तथा विद्युत् सेवामा समस्या नआउने गरी आवश्यक पूर्वतयारी गरिएको छ । सवारीसाधनको पार्किङ तथा यातायात व्यवस्थापनलाई समेत व्यवस्थित बनाइएको गाउँपालिकाले जनाएको छ ।

    जोमसोमस्थित कभर्डहलमा हुने सम्मेलनका लागि मञ्च, ध्वनि प्रणाली, ब्यानर तथा आवश्यक सजावटको काम पूरा गरिएको गाउँपालिकाका सूचना अधिकारी विकास सज्यालले जानकारी दिए ।

    सम्मेलनस्थलमा जलवायु परिवर्तनका कारण पृथ्वीमा परेको असरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले २८ फिट अग्लो ‘पृथ्वी रोइरहेको’ स्वरूपको गोलाकार आकृति राखिएको छ ।

    मुस्ताङमा उत्पादित कृषि उपजको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले ५० भन्दा बढी प्रदर्शनी कक्षसमेत राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए ।

    दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा जलवायु परिवर्तनका असर, त्यसबाट उत्पन्न चुनौती तथा स्थानीय तहको भूमिकाका विषयमा छलफल हुने आयोजकले जनाएको छ । सम्मेलनको अन्त्यमा जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनसम्बन्धी घोषणापत्र जारी गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images