images
images
  • गरिमा विकास बैंकले बोलायो साधारण सभा, २० प्रतिशत लाभांश पारित गर्दै

    काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ ।

    बैंकले असोज २६ गते सोमबार पोखराको बिरौटास्थित होटल पोखरा ग्राण्डमा साधारण सभा आयोजना गर्ने भएको हो । सभा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।

    सभाले बैंकको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसअनुसार शेयरधनीले कुल २० प्रतिशत लाभांश प्राप्त गर्ने प्रस्ताव रहेको छ ।

    त्यस्तै, सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पेश हुनेछ ।

    बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्ताव पनि साधारण सभामा पेश हुनेछन् ।

    असोज १४ गते बुक क्लोज

    साधारण सभा तथा प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन शेयर दाखिला बन्द गर्ने भएको छ ।

    यसअनुसार असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई कायम भएका शेयरधनीले बैंकको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

    बैंकको साधारण सभाले लाभांश वितरणसँगै आगामी दिनमा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने वा प्राप्ति गर्ने सम्भावनाका लागि सञ्चालक समितिलाई थप अधिकार दिने प्रस्तावसमेत पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images