काठमाडौं– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काइ पुल निर्माण १४ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनीलाई सरकारले झन्डै दुई अर्ब रुपैयाँ जरिवाना तिराउने भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, इटहरी आयोजनाले सार्वजनिक खरिद ऐनअनुसार पप्पु महादेव खिम्ती संयुक्त उपक्रमलाई एक अर्ब ९९ करोड १२ लाख ५८ हजार ७७५ रुपैयाँ राजस्व खातामा दाखिला गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
निर्देशनालयका अनुसार तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको जायजेथाबाट सरकारी बाँकीसरह असुलउपर गरिनेछ ।
आयोजना प्रमुख युवराज पोखरेलका अनुसार निर्माण कम्पनीले पुल निर्माणका लागि धरौटीबापत राखेको एक करोड ७१ लाख रुपैयाँको बैंक जमानत यसअघि नै जफत गरी राजस्व खातामा दाखिला गरिसकिएको छ ।
निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको सिफारिसमा तीन वर्षका लागि कालोसूचीमा समेत राखिएको पोखरेलले जानकारी दिनुभयो ।
पाँच पटक म्याद थप्दा पनि ५६ प्रतिशत मात्रै काम
कन्काइ नदीमा ७२३ मिटर लामो पुल निर्माणका लागि विसं २०६८ जेठ ३१ गते पप्पु महादेव खिम्ती संयुक्त उपक्रमसँग ठेक्का सम्झौता भएको थियो ।
३४ करोड नौ लाख रुपैयाँ लागतमा विसं २०७२ जेठ ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो ।
तर निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि आयोजनाले पटक–पटक गरी पाँच पटक म्याद थप गरेको थियो ।
म्याद थप हुँदासमेत पुलको निर्माण प्रगति ५६ प्रतिशतभन्दा बढी हुन नसकेपछि गत वर्ष मङ्सिरमा आयोजनाले निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेको थियो ।
आयोजना प्रमुख पोखरेलका अनुसार अधुरो पुल निर्माण सम्पन्न गर्न लाग्ने थप लागत, पुरानो ठेक्का सम्झौताको रकम र हालको निर्माण लागतबीचको अन्तर तथा निर्माण कम्पनीमाथि लाग्ने विभिन्न जरिवानासमेत जोडेर एक अर्ब ९९ करोड रुपैयाँभन्दा बढी रकम निर्धारण गरिएको हो ।
निर्माण कम्पनीले पाउनुपर्ने भुक्तानीसमेत रोक्का गर्न सडक विभागअन्तर्गतका अन्य कार्यालयलाई पत्राचार गरिएको आयोजनाले जनाएको छ ।
तोकिएको ३५ दिने अवधिभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको नाममा सरकारी बाँकीको लगत कायम गरी तहसिल कार्यालयमार्फत असुलउपरको प्रक्रिया अघि बढाइने पोखरेलले बताउनुभयो ।
पुल नबन्दा स्थानीयलाई सास्ती
कन्काइ पुल निर्माण लामो समयदेखि अलपत्र हुँदा झापा गाउँपालिका र गौरीगञ्ज क्षेत्रका स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
पुल निर्माण नहुँदा वर्षायाममा कन्काइ नदी वारपार गर्न जोखिमपूर्ण डुङ्गाको सहारा लिनुपर्ने अवस्था छ । हिउँदमा भने स्थानीयवासीले शुल्क तिरेर बाँसबाट बनाइएको अस्थायी पुल प्रयोग गर्दै आएका छन् ।
पुल निर्माण पूरा नहुँदा स्थानीयको आवतजावतसँगै व्यापार, कृषि उपजको ओसारपसार तथा दैनिक जनजीवनसमेत प्रभावित हुँदै आएको छ ।
दशकभन्दा बढी समयदेखि अधुरो रहेको पुल अब कसरी र कहिले सम्पन्न हुन्छ भन्ने विषयमा स्थानीयवासीको चासो बढेको छ ।






















