images
images
  • आज हरितालिका तीज पर्व मनाइँदै, पशुपतिनाथको दर्शन गर्न पाँचवटा रुट निर्धारण (नक्शासहित)

    काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

    भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

    सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

    पशुपतिनाथमा पाँचवटा रुट

    हरितालिका तीज पर्व २०८३ का अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले पाँचवटा दर्शन रुट तोकेको छ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिएको कोषले जनाएको छ ।

    कोषका अनुसार मित्रपार्क–उमाकुण्डतर्फबाट आउने भक्तजनले उमाकुण्ड, दक्षिणामूर्ति, कैलाश र बद्रिनसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट प्रवेश गरी उत्तरतर्फको मार्गबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

    त्यस्तै, गौशाला–जयबागेश्वरीतर्फबाट आउने भक्तजनका लागि जयबागेश्वरी, दथु:टोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै अस्थायी आकाशे पुलबाट भुवनेश्वरी, नासलचोक र शंकराचार्यमठ हुँदै पश्चिमतर्फको काठको मार्गबाट दर्शन गर्ने व्यवस्था गरिएको छ ।

    त्यसैगरी, सिनामंगल–विमानस्थलतर्फबाट आउने भक्तजनले तिलगंगा, राममन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल हुँदै पूर्वी ढोकाबाट दर्शन गर्न सक्नेछन् भने पिङ्गलास्थानतर्फबाट आउनेका लागि चार शिवालय, पञ्चदेवल, वृद्धाश्रम हुँदै दक्षिणतर्फबाट मन्दिर प्रवेश गरी दक्षिणी भागबाट दर्शन गर्ने व्यवस्था गरिएको छ ।

    कोषका अनुसार मन्दिर बाहिर पाँचवटा लाइन रहनेछन् भने परिसरभित्र प्रवेश गरेपछि भक्तजनलाई आठवटा लाइनमा विभाजन गरिनेछ । उत्तरतर्फ तीन, पूर्वतर्फ दुई, दक्षिणतर्फ एक र पश्चिमतर्फ दुई लाइन रहनेछन् । एकपटकमा आठ जना भक्तजनले दर्शन गर्न सक्ने गरी छिटो, सहज र व्यवस्थित दर्शनको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

    कोषले सबै भक्तजनलाई तोकिएको दर्शन मार्ग प्रयोग गरी सुरक्षित र व्यवस्थित रूपमा दर्शन गर्न आग्रह गरेको छ ।

    807658657 1810760826768394 6904119579766497389 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images