काठमाडौं– डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी तीनदेखि पाँचतारे होटल खल्तीको मोबाइल एपबाटै बुकिङ तथा भुक्तानी गर्न सक्ने भएका छन् ।
स्याफायर म्यानेजमेन्ट ग्रुपसँगको प्राविधिक साझेदारीमा सञ्चालनमा ल्याइएको उक्त सेवाको बुकिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित रहेको कम्पनीले जनाएको छ । भुक्तानी पुष्टि हुनासाथ प्रयोगकर्ताले तत्कालै होटल बुकिङको सुनिश्चितता प्राप्त गर्नेछन् ।
खल्तीका अनुसार अब आन्तरिक उडान तथा बसको टिकट बुकिङ गर्ने प्रयोगकर्ताले आफ्नो गन्तव्यमा बस्ने होटलसमेत एउटै एपबाट बुक गर्न सक्नेछन् ।
यससँगै खल्ती भुक्तानी सेवामा मात्र सीमित नरही सम्पूर्ण यात्रा व्यवस्थापन गर्ने डिजिटल माध्यमका रूपमा विस्तार भएको कम्पनीको भनाइ छ ।
‘यात्रा अझ सजिलो खल्तीमै’ अभियानसहित सुरु गरिएको सेवामा प्रारम्भिक आकर्षक योजना समेत सार्वजनिक गरिएको छ ।
योजनाअन्तर्गत होटल बुक गर्ने प्रयोगकर्तामध्ये गोलाप्रथाबाट छनोट हुने २० जना भाग्यशाली विजेताले प्रत्येक बुकिङमा अधिकतम १ हजार ५०० रुपैयाँसम्मको ५० प्रतिशत रकम फिर्ता पाउनेछन् ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले आन्तरिक पर्यटन बढ्दै गएको समयमा उडान, बस र होटल एउटै एपबाट बुक गर्न सकिने सुविधाले नेपाली यात्रुको अनुभवलाई थप सहज बनाउने बताए ।
उनले ‘खल्ती होटल्स’ सेवा एउटै एपबाट सम्पूर्ण यात्रा व्यवस्थापन गर्ने दीर्घकालीन लक्ष्यतर्फको महत्वपूर्ण कदम भएको बताए ।
स्याफायर म्यानेजमेन्ट ग्रुपका निर्देशक आशिष प्रसाईंले खल्तीसँगको साझेदारीले नेपालका होटल व्यवसायीलाई एक करोडभन्दा बढी डिजिटल प्रयोगकर्तासम्म प्रत्यक्ष पहुँच पुर्याउने बताए । यसबाट यात्रुले भरपर्दो र प्रमाणित बासस्थान छनोट गर्न सहज हुने उनको भनाइ छ ।























