काठमाडौं– सर्वसाधारणको बचत र लगानीको मुख्य भरोसा मानिने नेपालका विकास बैंकहरूमा नागरिकको आकर्षण र विश्वास कायमै देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्त सम्मको वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका विकास बैंकहरूमा ६ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन भएको छ ।
बैंकहरूले सोही अवधिमा ५ खर्ब ५१ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेका छन् ।
वित्तीय सूचकका आधारमा मुक्तिनाथ विकास बैंक निक्षेप (१ खर्ब २४ अर्ब) र कर्जा लगानी (१ खर्ब २ अर्ब) सहित शीर्ष स्थानमा छ । त्यसपछि गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक पनि निक्षेप सङ्कलन र कर्जा प्रवाह गर्ने बैंकको सूचीमा क्रमश: छन् ।
खराब कर्जा र निष्क्रिय सम्पत्तिको चुनौती
विकास बैंकहरूको औसत निष्क्रिय कर्जा (एनपीएल) ५.३७ प्रतिशत पुगेको छ, जसले कर्जा असुलीमा केही दबाब रहेको देखाउँछ । कर्णाली डेभलपमेन्ट बैंक को स्थिति भने चिन्ताजनक देखिएको छ, जहाँ खराब कर्जा ९७.४५ प्रतिशत पुगेको छ भने बैंकलाई समस्याग्रस्त सूचीमा राखी राष्ट्र बैंकले निगरानी गरिरहेको छ ।
समग्रमा, बैंकहरूको पुँजी कोष पर्याप्तता (सीएआर) १४.५७ प्रतिशत र औसत सिडी रेसियो ८४.१० प्रतिशत रहेकाले प्राय: सबै प्रमुख विकास बैंकहरूसँग निक्षेपकर्ताको रकम सुरक्षित राख्न र थप कर्जा दिन पर्याप्त पुँजी रहेको देखिन्छ ।
हेर्नुहोस् पूरा विवरण–























