काठमाडौं– रुपन्देहीको भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सिपुर दाङको विशेष टोलीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भुपेन्द्र बहादुर खत्रीको निर्देशनमा सोही कार्यालयको विशेष टोलीले क्यासिनोमा छापा मारेर पाँच जना जुवाडे र उक्त क्यासिनोका पिट म्यानेजरलाई पक्राउ गरेर स्थानीय जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ ।
पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएका पिट म्यानेजर भारतीय नागरिक पारस भाटिया हुन् । २५ वर्षीय भाटियाको स्थायी ठेगाना भारतको हरियाणा प्रदेशको फरिदावाद हो ।
यसैगरी जुवा खेलिरहेको अवस्थामा फक्राउ परेका नेपालीहरूमा म्याग्दी, बेनी नगरपालिका–७, बेनी बजारका ४८ वर्षीय नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन केसी र सोही उपमहानगरपालिका–१७ बिरौटामा ३९ वर्षीय सुदीप आचार्य छन् ।
यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–६, नेपालगञ्ज रोडका ४६ वर्षीय रामु श्रेष्ठ र सोही उपमहानगरपालिका–३ सीमानगरका ३६ वर्षीय चन्द्र प्रसाद श्रेष्ठलाई पनि पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बुझाइएको प्रहरीले जानकारी दिएको छ ।























