काठमाडौं– एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि २१ लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित नागरिकलाई राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीहरू एनआईएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर्स तथा यसका पोर्टफोलियो कम्पनीहरूबाट ५६ लाख सहयोग गरिएको बताइएको छ ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायतका जिल्लाको पुनर्निर्माण तथा दीर्घकालीन विकासमा समेत आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन भविष्यमा लगानीका अवसर विस्तार गर्नुका साथै शाखा सञ्जाल विस्तारमार्फत पुँजी बजारको पहुँच र वित्तीय सेवाको पहुँचलाई थप सहज बनाउने पहल गरिने जनाइएको छ ।
यस पहलमार्फत प्रभावित जिल्लाका परिवार तथा समुदायलाई वित्तीय सेवासँग थप जोड्न तथा दीर्घकालीन रूपमा स्थानीय आर्थिक विकासमा योगदान पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्स परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।






















