काठमाडौं– काठमाडौंस्थित नेपाल मेडिकल कलेज र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले रसुवा, नुवाकोट, धादिङका बाढीपिडित परिवारका लागि संयुक्त रूपमा ७५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै नेशनल र नेपाल मेडिकल कलेजले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन् ।
सोमबार नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारी नेतृत्वको टीमले अर्थमन्त्रालयमै पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत रकम हस्तान्तरण गरेको छ ।
रसुवामा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले दुवै मेडिकल कलेजको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ७५ लाख रूपैंया जम्मा गरिएको नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले बताइन् ।
राहत रकम बराबरको चेक ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि दुई मेडिकल कलेजले पुर्याएको योगदानको प्रशंसा गरे ।























