काठमाडौं– वराहक्षेत्र नगरपालिका–५ कालाबन्जरमा प्लाइउड उद्योग सञ्चालनमा आएपछि गाउँमै रोजगारीको अवसर बढेको छ । उद्योगमा हाल ६० देखि ६५ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् ।
जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा २०८१ माघमा स्थापना भएको उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो ।
७२ कट्ठा जग्गा लिजमा लिएर १ करोड ५० लाख रुपैयाँ लगानीमा सञ्चालनमा रहेको उद्योगले दैनिक ८० हजारदेखि १ लाख वर्गफिटसम्म भेनियर उत्पादन गर्दै आएको छ ।
उद्योगमा काम गर्ने बबिता बस्नेतका अनुसार घरको काम मिलाएर उद्योगमा काम गर्न पाउँदा परिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा खर्च जुटाउन सहज भएको छ ।
स्थानीयस्तरमा पुरुष श्रमिक पाउन कठिन भएपछि उद्योगमा महिला श्रमिकको संख्या बढी रहेको व्यवस्थापनले जनाएको छ ।
उद्योगमा श्रमिकलाई कामअनुसार प्रतिघण्टाका आधारमा पारिश्रमिक दिने गरिएको छ । सुरुवातमा दक्ष प्राविधिकको अभावमा भारतबाट जनशक्ति ल्याउनुपरे पनि अहिले नेपाली श्रमिकले मेसिन सञ्चालनलगायतका काम सिकिसकेका छन् ।
उद्योगले उत्तिस, कटुस र चिलाउने जातका गोलिया काठ प्रयोग गरी भेनियर उत्पादन गर्छ । आवश्यक काठ तेह्रथुम, खोटाङ र भोजपुरलगायत पहाडी जिल्लाबाट ल्याइने गरेको छ ।
उत्पादित भेनियर इटहरी, इनरुवा, झापा, नेपालगन्ज र कोहलपुरका प्लाइउड उद्योगमा बिक्री हुनुका साथै भारतको उत्तर प्रदेश, राजस्थान र सिलिगुडीसम्म निर्यात हुने गरेको छ ।
उद्योगले वार्षिक करिब ५ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ। उत्पादनका क्रममा निस्कने दाउरा तथा काठका टुक्रा बिक्रीबाट समेत उद्योगले थप आम्दानी गर्दै आएको जनाएको छ ।






















