काठमाडौं– बेनी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीको शेयर निष्कासन भदौ २५ गतेसम्म खुला रहनेछ र उक्त अवधिमा मागअनुसार शेयर बिक्री नभएमा आवेदन दिने समय असोज ५ गतेसम्म थप गरिने आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यसको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । त्यसमध्ये १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाका लागि यसअघि नै छुट्याइएको थियो ।
सर्वसाधारणका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २० हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका बाँकी ८ लाख ६३ हजार २ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।






















