images
images
  • नबिल बैंकले प्रस्ताव गर्‍यो १५.८० प्रतिशत लाभांश, नगद र बोनस कति–कति ?

    काठमाडौं– नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    बैंक सञ्चालक समितिको बैठकले साधारण शेयरधनीका लागि ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअनुसार बैंकले प्रस्ताव गरेको कुल लाभांश १५.८० प्रतिशत पुगेको छ ।

    प्रस्तावित बोनस शेयरको रकम १ अर्ब ३५ करोड २८ लाख रुपैयाँ रहेको छ भने नगद लाभांशको रकम २ अर्ब ९२ करोड २२ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ । उक्त रकममा बोनस तथा नगद लाभांशमा लाग्ने सम्बन्धित करसमेत समावेश गरिएको छ ।

    त्यस्तै, बैंकले ८ प्रतिशत गैर–परिवर्तनीय सञ्चित प्राथमिकता शेयरका शेयरधनीलाई ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्राथमिकता शेयरको चुक्ता पुँजी ५ अर्ब रुपैयाँका आधारमा आर्थिक वर्ष २०८२/८३ मा लाभांश वितरण हुने मितिदेखि २१३ दिनको अनुपातमा गणना गरिएको उक्त लाभांशको रकम २३ करोड ३४ लाख २० हजार रुपैयाँ रहेको छ । यसमा लाग्ने सम्बन्धित करसमेत समावेश छ ।

    नबिल बैंकको साधारण शेयरतर्फको चुक्ता पुँजी करिब २७ अर्ब ६ करोड रुपैयाँ रहेको छ भने प्राथमिकता शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ ।

    आर्थिक वर्ष २०८२/८३ मा बैंकको सन्तोषजनक वित्तीय प्रदर्शन तथा दिगो व्यावसायिक वृद्धिलाई आधार बनाउँदै शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश वितरणको प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

    यद्यपि, प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images