काठमाडौं– एसिसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताअन्तर्गत समूह ‘ए’को खेलमा साउदी अरेबियाले नेपाललाई १९१ रनको लक्ष्य दिएको छ ।
शनिबार मलेसियाको क्लालाम्पुरस्थित वायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको साउदी अरेबिया ४९।२ ओभरमा १९० रनमा अलआउट भयो ।
उसका लागि ओपनिङ ब्याटर अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रनको पारि खेले ।
यस्तै, मुहम्मद आतिफले ३० र मोहम्मद हिशाम शेखले २८ रन जोडे ।
नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछानेले १० ओभरमा दुई मेडनसहित १९ रन दिएर सर्वाधिक ३ विकेट लिए ।
यस्तै, दीपेन्द्र सिंह ऐरीले ९।२ ओभरमा ४३ रन दिएर ३ विकेट नै हात पारे ।
ललितनारायण राजवंशीले २ तथा गुलशनकुमार झा र शेर मल्लले १–१ विकेट लिए ।
नेपाली टोली आजको खेलमा जित दर्ता गरेर सेमिफाइनल यात्रा सुरक्षित गर्न चाहन्छ ।
नेपालले पहिलो खेलमा बहराइनविरुद्ध सात विकेट र दोस्रो खेलमा आयोजक मलेसियाविरुद्ध छ विकेटको जित निकालेको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङविरुद्ध खेल्ने तालिका छ ।























