काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एनआईसी एसिया बैंकले २ करोड २१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड रुपैयाँ तथा बैंकका सञ्चालक र कर्मचारीबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको हो ।
बैंकका अध्यक्ष अशोककुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सञ्जितकुमार शाक्यले संयुक्त रूपमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन बैंकले सहयोग गरेको जनाएको छ ।
बैंकले विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
एनआईसी एसिया बैंकले प्राकृतिक विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ ।























