images
images
  • प्रधानमन्त्रीले फेसबुकमार्फत भने– बाढीपीडितको उद्धार र पुनर्स्थापनामा सरकार पूर्ण शक्तिका साथ परिचालित छ

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उद्धार, उपचार, राहत र पुन:स्थापनाका लागि सरकारका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् ।

    बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री साहले ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकलाई यो कठिन घडीमा राज्य एक्लो नछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद् तथा मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको प्रधानमन्त्री साहले जानकारी दिएका छन् ।

    उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीलाई प्रभावित क्षेत्रमा तत्काल परिचालन गरिएको छ । सुरक्षाकर्मीहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिसकेको र उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार सुरू गरिएको उनले बताएका छन् ।

    प्रधानमन्त्री साहले अहिलेको मुख्य प्राथमिकता घाइतेको ज्यान जोगाउने, बेपत्ता नागरिकको खोजी गर्ने र प्रभावितलाई सुरक्षित राख्ने रहेको स्पष्ट पारेका छन् । घाइतेको सहज तथा नि:शुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा उपत्यकाका अन्य ठूला अस्पताललाई समेत उपचारका लागि तयारी अवस्थामा राखिएको उनले बताएका छन् ।

    प्रभावित क्षेत्रमै मेडिकल टोली परिचालन गरी उद्धार तथा प्राथमिक उपचारको व्यवस्था गरिएको छ । राष्ट्रिय ट्रमा सेन्टरसहित विभिन्न सुरक्षा निकायबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको छ । नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री परिचालन गरिएको प्रधानमन्त्री साहले बताएका छन् ।

    आपत्कालीन स्वास्थ्य सेवा, औषधी तथा रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटलगायत संघसंस्थासँग निरन्तर समन्वय भइरहेको उनको भनाइ छ ।

    प्रधानमन्त्री साहले प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग समन्वय गरी स्थानीय तहमा आवश्यकताअनुसार सहयोग र सहजीकरण भइरहेको पनि बताएका छन् । घाइते तथा बेपत्ता नागरिकको विवरण संकलन र क्षतिको यकिन गर्ने कामसमेत जारी रहेको उनले जानकारी दिएका छन् ।

    बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएको प्रधानमन्त्री साहले उल्लेख गरेका छन् । ती क्षेत्रमा पीडित परिवारका लागि खानेकुरा, स्वच्छ खानेपानी, औषधी तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने उनले बताएका छन् ।

    उनले बाढीका कारण क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुन:स्थापना गरिने बताएका छन् ।

    प्रधानमन्त्री साहले प्रभावित नागरिकलाई धैर्य गर्न आग्रह गर्दै उद्धार, उपचार, खानपिन तथा बसोबासको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ’ भन्ने सन्देश दिँदै उनले विपद्को सामना गर्न सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारी राहत तथा उद्धार अभियानमा सहयोग गर्न आह्वान गरेका छन् ।

    प्रधानमन्त्री साहले बेपत्ता नागरिकको खोजीलाई तीव्र पारिने, घाइतेको पूर्ण विवरण तथा क्षतिको विस्तृत विवरण संकलन गरिने र रातभर पनि उद्धार कार्य जारी रहने बताएका छन् । बाढीबाट प्रभावित नागरिकलाई पुन: सामान्य जीवनमा फर्काउन सरकार पूर्ण रूपमा परिचालित रहने उनको भनाइ छ ।

    प्रधानमन्त्रीको भनाइ–

    आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,

    आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु । आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ । प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ ।

    बाढीका कारण हालसम्म ५० भन्दा बढी हाम्रा प्रिय नागरिकहरूले ज्यान गुमाइसकेको दु:खद खबर प्राप्त भएको छ । म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ । बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु ।

    यो दु:खद खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौंको संख्यामा उद्धार कार्यमा परिचालन गरेको छ ।

    बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो । त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्वपूर्ण निर्णयहरू गरियो ।

    बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको छ ।

    हाम्रा सुरक्षाकर्मीहरूले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५०+ नागरिकको उद्धार गरिसकेका छन् । उद्धार गरिएकामध्ये घाइतेहरूलाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरू गरिएको छ ।

    अहिलेको यो समय निकै संवेदनशील छ । घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु नै हाम्रो पहिलो प्राथमिकता हो ।

    घाइते नागरिकहरूको सहज र नि:शुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ । उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ ।

    सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ । काठमाडौंको राष्ट्रिय ट्र्मा सेन्टर, विभिन्न सुरक्षा निकायहरूबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीहरूको टोली तत्कालै पठाइएको छ । यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ ।

    आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता संघसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ ।

    बाढीग्रस्त क्षेत्रका संघीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौं । घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ ।

    यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ । बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ । घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन गरिनेछ । आज रात भर पनि उद्धार कार्य जारी नै रहने छ ।

    नुवाकोटको विदुर; रसुवाको उत्तरगया र गोसाइँकुण्ड; धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ ।

    बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुन: पुरानै अवस्थामा फर्काइनेछ । विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुन:स्थापना गरिनेछ ।

    बाढी प्रभावित क्षेत्रका आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

    तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु- यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ ।

    यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुनुपर्छ । म सम्पूर्ण सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।

    हाम्रा पीडित दाजुभाइ–दिदीबहिनीहरूलाई पुन: सामान्य जीवनमा फर्काऔँ ।
    धन्यवाद ।

    रसुवा बाढी अपडेट : मृतकको सङ्ख्या १५७ पुग्यो (विवरणसहित)

    प्रतिक्रिया दिनुहोस्
    images
    images