images
images
  • दसैँअघि नै बैंकहरूले लाभांश बाँड्ने तयारी, ६ बैंकको वित्तीय विवरण राष्ट्र बैंकमा

    काठमाडौं– सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैंकहरूले यस वर्षको दसैँअघि नै साधारणसभा सम्पन्न गरी लाभांश वितरण गर्ने तयारी थालेका छन् । बैंकहरूले वार्षिक लेखापरीक्षण प्रक्रिया अघि बढाउँदै साधारणसभा बोलाउने तयारी गरेका हुन् ।

    हालसम्म नबिल बैंक, एभरेस्ट बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो वार्षिक वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइसकेका छन् ।

    कानुनी व्यवस्थाअनुसार आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र संस्थाले वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्ने हुन्छ ।

    बैंक तथा वित्तीय संस्थाले भने साधारणसभा र लाभांशसम्बन्धी निर्णय गर्नुअघि आफ्नो वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत गराउनुपर्छ ।

    यस वर्ष दसैँ असोजको अन्तिम साताबाट सुरु हुने भएकाले बैंकहरूले असोजको पहिलो सातासम्म साधारणसभा सम्पन्न गर्ने लक्ष्य राखेका छन् ।

    अधिकमासका कारण यस वर्ष दसैँ केही ढिला सुरु हुने भएकाले बैंकहरूलाई साधारणसभा र लाभांश वितरणका लागि थप समय मिलेको छ ।

    नगद लाभांशमा बैंकहरूको जोड

    यस वर्ष बैंक तथा वित्तीय संस्थाले बोनस सेयरभन्दा नगद लाभांशलाई प्राथमिकता दिने सम्भावना देखिएको छ । पुँजीकोष व्यवस्थापन तथा नियामकीय व्यवस्थाका कारण बैंकहरू नगद लाभांश वितरणतर्फ केन्द्रित भएका हुन् ।

    हालसम्म दुई विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन्। कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बोनस सेयर र ६.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

    एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढी

    प्रस्तुत वित्तीय विवरणअनुसार यस वर्ष वाणिज्य बैंकहरूमध्ये एभरेस्ट बैंकले ३८.३२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखाएको छ ।

    त्यस्तै, सिद्धार्थ बैंकले २६।१५ प्रतिशत, सानिमा बैंकले २०.८५ प्रतिशत, नबिल बैंकले १९.१० प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९.०९ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ ।

    नेपाल बैंकले १५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकले १२.०२ प्रतिशत र नेपाल एसबिआई बैंकले ११.०४ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता देखाएका छन् ।

    प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र कुमारी बैंकको लाभांश क्षमता भने एकल अंकमा सीमित छ ।

    यता प्रभु बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस वर्ष लाभांश वितरण गर्न सक्ने अवस्था नदेखिएको वित्तीय विवरणले देखाएको छ ।

    तर बैंकहरूले लाभांश वितरण गर्नुअघि राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत गराउनुपर्ने भएकाले प्रस्तुत लाभांश क्षमता अन्तिम लाभांश घोषणा भने होइन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images