images
images
  • कर छुट सुविधा लिन जिल्लामा २ हजार ९०६ फर्मले बुझाए बक्यौता

    काठमाडौं– सरकारले आर्थिक ऐन २०८३ मार्फत दिएको कर छुट सुविधाको उपयोग गर्दै जिल्लामा हालसम्म २ हजार ९०६ फर्मले बक्यौता कर दाखिला गरेका छन् ।

    आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको बक्यौता तथा थप एक प्रतिशत कर बुझाएमा बाँकी ब्याज, जरिवाना र विलम्ब शुल्क मिनाहा हुने व्यवस्था आर्थिक ऐन २०८३ ले गरेको छ । ऐन जारी भएपछि करदाताले बक्यौता बुझाउने क्रम बढेसँगै जिल्लामा राजस्व संकलनसमेत वृद्धि भएको छ ।

    आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्यविक्रम खड्काका अनुसार लामो समयदेखि कर बक्यौता रहेर भुक्तानी गर्न नसकेका तथा व्यवसाय सञ्चालनमा समस्या भोगिरहेका करदातालाई सरकारले एकपटकका लागि यस्तो अवसर दिएको हो ।

    “जुनसुकै करको बक्यौता भए पनि यो सुविधा लिन सकिन्छ । यसलाई अवसरका रूपमा लिएर कर छुटको सुविधा उपभोग गर्न आग्रह गर्दछु,” खड्काले भन्नुभयो ।

    उहाँका अनुसार यस्तो सुविधा पुनः प्राप्त हुने निश्चित नभएकाले सरकारले दिएको अवसरको सदुपयोग गर्न करदातालाई आग्रह गरिएको छ ।

    कुन क्षेत्रमा कति फर्मले लिए सुविधा

    आन्तरिक राजस्व कार्यालयका अनुसार २०८२ भदौ २ गतेसम्म विवरण नबुझाएका सुन, चाँदी, गरगहना, हीरा, रत्न तथा पत्थर कारोबारमा लगाइएको विलासिता शुल्क र मूल्य अभिवृद्धि करतर्फ एउटा फर्मले छुट सुविधा लिएको छ ।

    संस्था दर्ता ऐन २०३४ अन्तर्गत आयकर छुटतर्फ दुई फर्मले सुविधा लिएका छन् ।

    आयकरतर्फ स्थायी लेखा नम्बर नलिई कारोबार गर्ने सात फर्मले छुट सुविधा लिएका छन् । यस्तै, स्थायी लेखा नम्बर लिएर हालसम्म कारोबार नगरेका २६६ फर्मले सुविधा लिएका छन् ।

    आयकरतर्फ ब्याज तथा जरिवाना छुटको सुविधा कार्यालयमार्फत ३२६ फर्म र अनलाइन प्रणालीमार्फत १ हजार ९६४ फर्मले लिएको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो ।

    मूल्य अभिवृद्धि करतर्फ कर संकलन नगरेका र विवरणसमेत दाखिला नगरेका ४४ फर्म तथा कर संकलन गरे पनि विवरण दाखिला नगरेका ३८ फर्मले छुट सुविधा लिएका छन् ।

    अन्तःशुल्कतर्फ कारोबारको असुलउपर तथा विवरणसम्बन्धी छ फर्म र इजाजतपत्र नवीकरण नगरेका २१६ फर्मले सुविधा लिएका छन् ।

    त्यस्तै, आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कतर्फ विवरण पेस गरी कर नबुझाएका २३ फर्म, कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने ११ फर्म तथा विचाराधीन मुद्दा फिर्ता लिएर कर दाखिला गर्ने दुई फर्मले समेत छुट सुविधा लिएका छन् ।

    हजारौँ करदाता अझै विवरण बुझाउन बाँकी

    जिल्लामा आयकरतर्फ ७४ हजार ३६६ करदाता दर्ता छन् । त्यसमध्ये मूल्य अभिवृद्धि करतर्फ ११ हजार ३४५ र अन्तःशुल्कतर्फ ४ हजार ९६१ करदाता दर्ता भएका छन् ।

    कार्यालयका अनुसार मूल्य अभिवृद्धि करतर्फ सबै महिनाको विवरण नबुझाउने करदाताको संख्या कुल करदाताको करिब ५५ प्रतिशत रहेको छ । यस्तै, आयकरतर्फ आर्थिक वर्ष २०८१/८२ सम्म ३३ प्रतिशत करदाताले विवरण बुझाउन बाँकी रहेको देखिएको छ ।

    साउनमै २८ करोड बढी राजस्व

    आर्थिक ऐन २०८३ ले दिएको छुट सुविधाको प्रभाव राजस्व संकलनमा समेत देखिएको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनमा १ अर्ब ८१ करोड ५५ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को साउनमा १ अर्ब ५३ करोड ३९ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

    यसरी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउनमा २८ करोड रुपैयाँभन्दा बढी राजस्व वृद्धि भएको छ ।

    आयकरतर्फ आर्थिक ऐन २०८३ ले दिएको छुट सुविधा उपयोग गर्दै जेठ १५ देखि भदौ ५ गतेसम्म २ हजार ५६३ करदाताले विवरण बुझाएर कर दाखिला गरिसकेको कार्यालयले जनाएको छ ।

    यस्तै, मूल्य अभिवृद्धि करतर्फ ८२ करदाताले विवरण बुझाएर कर रकम दाखिला गरेका छन्। अन्तःशुल्कतर्फ २२२ करदाताले आर्थिक ऐन २०८३ को दफा ४३ को उपदफा १० र २० अनुसार अन्तःशुल्क दस्तुर बुझाएर विवरणसमेत दाखिला गरिसकेका छन् ।

    सरकारले दिएको छुट सुविधाको समयसीमा र प्रक्रियाबारे जानकारी लिएर बाँकी रहेका करदातालाई समेत बक्यौता दाखिला गर्न कार्यालयले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images