काठमाडौं– नेपाल बीमा प्राधिकरणले बीमा बजारमा बढ्दै गएको गलत बिक्री र भ्रामक प्रचारप्रसार नियन्त्रण गर्न जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई कडा निर्देशन दिएको छ। बीमालेख खरिद गरेको छोटो समयमै बीमालेख त्याग्ने ९सरेन्डर० प्रवृत्ति बढ्दै गएपछि प्राधिकरणले बीमा बिक्री प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन नयाँ व्यवस्था लागू गरेको हो ।
प्राधिकरणले बीमा व्यवसाय बीमितको आर्थिक जोखिम हस्तान्तरण तथा वित्तीय सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील सेवा भएकाले बीमा योजना बिक्री गर्दा बीमितलाई सही, स्पष्ट, पूर्ण र तथ्यपरक सूचना उपलब्ध गराउनु बीमक तथा अभिकर्ताको प्रमुख दायित्व भएको जनाएको छ ।
बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ तथा प्रचलित नियामकीय व्यवस्थाअनुसार जारी गरिएको निर्देशनमा जीवन बीमा योजनालाई बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप वा लगानी योजनाका रूपमा प्रस्तुत गर्न रोक लगाइएको छ ।
अब कुनै पनि जीवन बीमा योजनालाई ‘फिक्स्ड डिपोजिट प्लान’, ‘ब्याज दिने योजना’, ‘डबल मनी योजना’ वा ‘निश्चित लगानी प्रतिफल’ जस्ता नाम वा स्वरूपमा प्रचार गरी बिक्री गर्न पाइने छैन। त्यस्तै, बीमालेखका शर्त तथा प्राधिकरणबाट स्वीकृत लाभभन्दा बाहिर गएर निश्चित बोनस, प्रतिफल वा रकम पाइने भन्दै बीमितलाई झुटो आश्वासन दिनसमेत निषेध गरिएको छ ।
बीमा प्रस्ताव पेस गर्दा उक्त योजना बैंक तथा वित्तीय संस्थाको निक्षेप वा मुद्दती खाता नभएको विषय बीमितलाई स्पष्ट रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। साथै, बीमितको आवश्यकता, आर्थिक क्षमता, उमेर, आयस्रोत र बीमा गर्ने उद्देश्यका आधारमा मात्र उपयुक्त बीमा योजना सिफारिस गर्नुपर्नेछ ।
सामाजिक सञ्जालको प्रचारमा पनि कडाइ
प्राधिकरणले अभिकर्ताहरूले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट आफूखुसी बीमा योजनाको भ्रामक र अतिरञ्जित प्रचार गर्ने प्रवृत्तिमा समेत कडाइ गरेको छ ।
अब बीमा कम्पनीले आधिकारिक रूपमा स्वीकृत गरेका प्रचार सामग्रीबाहेक अभिकर्ताले अन्य सामग्री प्रयोग गरी बीमा योजनाको प्रचारप्रसार गर्न पाउने छैनन् ।
बीमा कम्पनीहरूले आफ्ना अभिकर्ताले प्रयोग गर्ने बिक्री तथा प्रचार सामग्रीको नियमित परीक्षण गर्नुपर्नेछ। त्यस्तै, ग्राहकबाट प्राप्त गुनासो तत्काल सम्बोधन गर्ने र सामाजिक सञ्जालमा हुने बीमा प्रचारप्रसारको नियमित अनुगमन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
‘मिस–सेलिङ’को छुट्टै अभिलेख राख्नुपर्ने
प्राधिकरणले गलत बिक्रीसम्बन्धी गुनासोहरूको छुट्टै अभिलेख राख्न पनि बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। यस्तो अभिलेखमा गुनासोको संख्या, प्रकृति, समाधानको अवस्था तथा गरिएको कारबाहीको विवरण समावेश गर्नुपर्नेछ ।
बीमा कम्पनीहरूले उक्त विवरण प्रत्येक त्रयमासमा अनिवार्य रूपमा प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्राधिकरणले नयाँ निर्देशन तथा प्रचलित कानुनी व्यवस्थाको उल्लंघन गरी बीमालेख बिक्री गर्ने, गलत सूचना प्रवाह गर्ने, भ्रामक वा अतिरञ्जित प्रचार गर्ने तथा बीमालेखको वास्तविक प्रकृति लुकाउने कार्य गरेमा बीमा ऐन, २०७९ बमोजिम कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।
प्राधिकरणको यो कदमले बीमा बिक्री प्रक्रियामा पारदर्शिता बढाउने, अनावश्यक रूपमा बीमालेख सरेन्डर गर्ने प्रवृत्ति घटाउने तथा बीमितको हित संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


विश्व खबर 




















