काठमाडौं– गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्न ६ वटा बैंकले नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृति मागेका छन् ।
आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक गरेपछि बाह्य लेखापरीक्षण सम्पन्न गरेर बैंकहरूले लाभांश वितरणको प्रक्रिया अघि बढाएका हुन् । लाभांश घोषणा गर्नुअघि राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्ने भएकाले बैंकहरू स्वीकृतिको पर्खाइमा छन् ।
हालसम्म एभरेस्ट बैंक, सानिमा बैंक, नबिल बैंक, कुमारी बैंक र माछापुच्छ्रे बैंकले लाभांश वितरणका लागि राष्ट्र बैंकमा पूर्वस्वीकृति मागेका छन् । यसैगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि लाभांश वितरणको पूर्वस्वीकृतिका लागि आवेदन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्नुअघि राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ । पूर्वस्वीकृति छिट्टै प्राप्त भएमा बैंकहरूले तत्काल सञ्चालक समितिबाट लाभांश प्रस्ताव गर्ने तयारी गरेका छन् ।
बैंकिङ क्षेत्रका अधिकारीहरूका अनुसार भदौ मसान्तभित्र राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएमा दशैंअघि नै साधारणसभा सम्पन्न गरी सेयरधनीलाई लाभांश वितरण गर्ने तयारी गर्न सकिनेछ। तर पूर्वस्वीकृति प्रक्रियामै ढिलाइ भएमा लाभांश वितरणको समय पनि लम्बिनेछ ।
बैंकरहरूले यस वर्ष नगद लाभांशलाई प्राथमिकता दिने संकेत गरेका छन्। सञ्चालक समितिले लाभांश प्रस्ताव गरेपछि त्यसलाई साधारणसभाबाट पारित गर्नुपर्ने हुन्छ ।
लाभांश प्रस्ताव गरिसकेपछि साधारणसभा आह्वान गर्नुअघि पनि बैंकहरूले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिनुपर्छ । अन्तिम स्वीकृति प्राप्त भएपछि साधारणसभा हुने मितिभन्दा कम्तीमा २१ दिनअघि साधारणसभा आह्वानको सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।
कुन बैंकको लाभांश क्षमता कति
गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणका आधारमा पूर्वस्वीकृतिका लागि राष्ट्र बैंक पुगेका बैंकहरूमध्ये नबिल बैंकको लाभांश क्षमता १९।१ प्रतिशत रहेको छ ।
त्यस्तै एभरेस्ट बैंकको लाभांश क्षमता ३८.३२ प्रतिशत, सानिमा बैंकको २०.८५ प्रतिशत, माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत र कुमारी बैंकको ३।०२ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अधिकारीहरूले सकेसम्म दशैंअघि नै लाभांश वितरण गर्न सकिने गरी स्वीकृति प्रक्रियालाई अघि बढाउने तयारी भइरहेको बताएका छन् ।
यसअघि विकास बैंकतर्फ कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश वितरणका लागि राष्ट्र बैंकबाट पूर्वस्वीकृति प्राप्त गरिसकेका छन् ।
बैंकहरूको लाभांश घोषणा र वितरण प्रक्रिया अघि बढेसँगै अब राष्ट्र बैंकको पूर्वस्वीकृति तथा अन्तिम स्वीकृतितर्फ लगानीकर्ताको चासो बढेको छ ।


विश्व खबर 




















