काठमाडौं– सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका जेनजी नागरिक अभियानका तीन अभियन्ता २२ दिनपछि थुनामुक्त भएका छन् ।
प्रकाश बम, अजय सोडारी (पूर्णबहादुर बुढा) र सुनिल विक जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकेको धरौटी रकम घटाएपछि मात्रै रिहा हुन सकेका हुन् ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही ५ हजार रूपैयाँ धरौटी लिएर थुनामुक्त गरेको हो ।
माइतीघर मण्डला तथा आसपासका निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए । आन्दोलन तथा विरोध प्रदर्शनका क्रममा सार्वजनिक यातायात सञ्चालन र शान्ति सुरक्षामा असर परेको दाबी गर्दै प्रशासनले उनीहरूमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।
पक्राउपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरूमा तीनैजनासँग जनही एक लाख रूपैयाँ धरौटी माग गरेको थियो । उक्त रकम बढी भएको दाबी गर्दै उनीहरूले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका थिए ।
सर्वोच्च अदालतले प्रशासनले तोकेको धरौटी रकम बढी भएको ठहर गर्दै उक्त निर्णय खारेज गरेपछि प्रशासनले धरौटी रकम घटाएर जनही ५० हजार रूपैयाँ कायम गरेको थियो । तर, उक्त रकमसमेत बुझाउन नसकेपछि तीनैजनालाई पुर्पक्षका लागि जगन्नाथदेवलस्थित कारागार चलान गरिएको थियो ।
धरौटी रकम बुझाउन नसकेर कारागार पठाउने प्रशासनको निर्णयविरुद्ध पनि काठमाडौं जिल्ला अदालतमा निवेदन परेको थियो । सोही निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले भदौ २ गते प्रशासनको पुरानो आदेश संशोधन गरी धरौटी रकम घटाएर जनही ५ हजार रूपैयाँ कायम गर्न आदेश दिएको हो ।
अदालतको आदेशपछि प्रतिवादीका तर्फबाट जनही ५ हजार रूपैयाँ धरौटी दाखिला गरिएको थियो । धरौटी बुझाएसँगै प्रकाश बम, अजय सोडारी र सुनिल विक २२ दिनपछि कारागारबाट रिहा भएका हुन् ।























