images
images
  • अब संघीय सरकारका कर्मचारीले १५ दिनमै तलब पाउने

    काठमाडौं– संघीय सरकार मातहतका कार्यालयमा कार्यरत कर्मचारीले अब हरेक १५ दिनमा तलब तथा भत्ता पाउने भएका छन् । सरकारले अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने व्यवस्था कार्यान्वयन गर्न जानकारी गराएको छ ।

    अर्थ मन्त्रालयले गत वैशाखमै संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो। तर, आवश्यक प्रणाली विकास नभएका कारण उक्त निर्णय तत्काल कार्यान्वयनमा आउन सकेको थिएन । महालेखा नियन्त्रक कार्यालयले सोमबार निर्णय गर्दै अब प्रत्येक महिनाको १५ दिन पूरा भएपछि कर्मचारीलाई अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका संघीय सरकारी निकायबाट अर्धमासिक तलब तथा भत्ता भुक्तानीका लागि निकासा माग भएमा आवश्यक व्यवस्था मिलाउन कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको छ । सरकारले अर्धमासिक तलब भुक्तानीको व्यवस्था सुरुमा अर्थ मन्त्रालयबाट कार्यान्वयनमा ल्याएको थियो । चालु आर्थिक वर्षदेखि सबै संघीय सरकारी निकायमा विस्तार गर्ने निर्णय भए पनि आवश्यक प्रणाली तयार हुन ढिलाइ हुँदा कार्यान्वयनमा करिब एक महिना ढिलाइ भएको हो ।

    नयाँ व्यवस्थासँगै संघीय सरकारअन्तर्गत कार्यरत कर्मचारीले महिनाको पहिलो १५ दिनको तलब तथा भत्ता सो अवधि पूरा भएपछि र बाँकी १५ दिनको भुक्तानी महिनाको अन्त्यपछि पाउने व्यवस्था लागू हुनेछ । सरकारले कर्मचारीलाई नियमित रूपमा तलब उपलब्ध गराउने र तलब भुक्तानी प्रक्रियालाई थप व्यवस्थित बनाउने उद्देश्यले अर्धमासिक भुक्तानी प्रणाली लागू गरेको जनाएको छ ।artha salary 1 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images