काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनमा एउटा अचम्मलाग्दो प्रतिस्पर्धा नेता कार्यकर्ताले देख्ने भएका छन्। उनीहरुले यो प्रतिस्पर्धा जारी महाधिवेशनमा समावेशी उपसभापतिमा देख्ने छन्। यो प्रतिस्पर्धाको परिणाम पछि देखिने छ- कांग्रेस निष्ठावानहरुको पार्टी हो कि धनवानहरुको?
समावेशी उपसभापति पदका लागि करिब तीन खर्ब डलरका मालिक विनोद चौधरी र लामो समयदेखि निष्ठावान राजनीति गर्दै आएका फर्मुल्लाह मन्सुरबीच प्रतिस्पर्धा हुने भएको छ। आर्थिक, सामाजिक तथा राजनीतिक पृष्ठभूमिका हिसाबले नितान्त फरक पहिचान बोकेका दुई उम्मेदवार एउटै पदका लागि प्रतिस्पर्धामा उत्रिएपछि कांग्रेसको समावेशी राजनीतिक अभ्यासउपर बहस सुरु भएको छ।
चौधरी विवादास्पद व्यवसायीका रूपमा चिनिन्छन् भने मन्सुर लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भुइँ तहका नेता हुन्। दुई उम्मेदवारको पृष्ठभूमि र राजनीतिक यात्रालाई लिएर समर्थकहरूले आआफ्नो पक्षमा मत मागिरहेका छन्।
मन्सुरका समर्थकहरूले भने उनलाई लामो समयदेखि पार्टीमा योगदान गर्दै आएका, सादगी र इमानदार छविका नेता भन्दै उपसभापतिमा विजयी गराउन अपिल गरेका छन्।
उनीहरुले मन्सुरले आफ्नो राजनीतिक जीवन नेपाली कांग्रेसमै बिताएको, दुईपटक सहमहामन्त्रीको जिम्मेवारी सम्हालेको तथा पार्टीका विभिन्न आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरिसकेका छन्। समर्थकहरूले बीपी कोइरालाको हातबाट सक्रिय सदस्यता लिएका मन्सुर लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय रहेको उल्लेख गरेका छन्।
यसअघि विशेष महाधिवेशनका क्रममा मन्सुरले पनि गगन थापा र विश्वप्रकाश शर्मासँगै कारबाही भोगेका थिए । समर्थकहरूले उनलाई संघर्षशील नेताका रूपमा प्रस्तुत गरेका छन्।
नेतृत्वमा पुग्न चाहनेका लागि आर्थिक हैसियतभन्दा राजनीतिक योगदान, संघर्ष र समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिनुपर्ने तर्क गर्ने उनीहरूले चौधरीतर्फ संकेत गर्दै ‘पार्टीमा लामो योगदान गरेका संघर्षशील नेतालाई नेतृत्वमा ल्याउने कि आर्थिक तथा राजनीतिक रूपमा विवादास्पद छविका व्यक्तिलाई नै पटकपटक अवसर दिने’ भन्ने प्रश्नसमेत उठाएका छन्।
उनीसँग प्रतिस्पर्धा गर्ने चौधरी आर्थिक, राजनीतिक, सामाजिक हिसाबमा समेत विवादमुक्त छैनन्। उनले मानिसहरुलाई बन्धक बनाएकोदेखि हत्यालाई आत्महत्या बनाएको भन्नेसम्मको आरोप ब्यहोर्नु परेको छ।
बीपी कोइरालाले भनेका थिए, ‘पार्टीमा जब सुकिलमुकिला धनाढ्यहरु हावी हुन्छन्, तब कार्यकर्ताले विद्रोह गर्नुपर्छ। तर यसबेला इमान्दार राजनीति गरेर आएको मन्सुरसँग अर्बपति चौधारी चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।
कांग्रेसको धेरैवटा पदमा निर्वाचन हुँदैछ। तर समावेशी उपसभापतिमा धेरैले चासो दिएका छन्। उनीहरुले कांग्रेसमा निष्ठावान कि धनवान भन्दै मत प्रकट गर्नुपर्ने भएको छ।


विश्व खबर 



















