काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले १० वर्षमुनिका बढी तौल भएका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ।
बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनको समस्या सम्बोधन गर्न पहिलोपटक निर्देशिका सार्वजनिक गर्दै डब्लुएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिस गरेको हो।
डब्लुएचओका अनुसार ० देखि ९ वर्ष उमेर समूहका बालबालिकामा मोटोपन उपचारका लागि औषधि, बेरियाट्रिक शल्यक्रिया वा तौल घटाउने उपकरण प्रयोग गर्न सिफारिस गरिँदैन। १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीमा भने निगरानीमा सञ्चालन हुने बहुआयामिक जीवनशैली कार्यक्रमबाट अपेक्षित सुधार नआएमा मात्र स्वीकृत औषधि प्रयोगबारे विचार गर्न सकिनेछ।
अत्यधिक मोटोपन भएका किशोरकिशोरीमा भने कडा मापदण्ड र चिकित्सकीय सर्त पूरा भएमा बेरियाट्रिक शल्यक्रियाबारे विचार गर्न सकिने डब्लुएचओले जनाएको छ। विशेषगरी टाइप–२ मधुमेह वा उच्च रक्तचाप जस्ता स्वास्थ्य जटिलता देखिएका र खानपान तथा जीवनशैलीमा सुधारबाट पर्याप्त लाभ नपाएका अवस्थामा यस्तो विकल्प विचार गर्न सकिनेछ।
यी सिफारिस वयस्कको मोटोपनसम्बन्धी डब्लुएचओको निर्देशिकाभन्दा फरक छन्। सन् २०२५ डिसेम्बरमा जारी वयस्कसम्बन्धी निर्देशिकामा ओजेम्पिक र माउन्जारो जस्ता जीएलपी–१ वर्गका औषधिसहित तौल घटाउने तथा मधुमेह नियन्त्रणका औषधि प्रयोग गर्न सकिने उल्लेख गरिएको थियो।
डब्लुएचओका अनुसार सन् २०२४ मा विश्वभर ५ देखि ९ वर्ष उमेर समूहका करिब सात करोड बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका करिब १० करोड किशोरकिशोरी मोटोपनबाट प्रभावित थिए। पाँचदेखि १९ वर्ष उमेर समूहमा मोटोपनको दर सन् १९९० को दुई प्रतिशतबाट बढेर सन् २०२४ मा आठ प्रतिशत पुगेको छ।
डब्लुएचओको पोषण तथा खाद्य सुरक्षा विभागकी निर्देशक लुज मारिया डे रेगिलले मोटोपन सबै क्षेत्रमा बढिरहेको बताइन्। उनका अनुसार कम तथा मध्यम आय भएका देशमा समस्या तीव्र रूपमा बढिरहेको छ भने केही उच्च आय भएका देशमा वृद्धि रोकिए पनि समस्या अझै उच्च छ।
डब्लुएचओले मोटोपनसँगै बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने जनाएको छ। चिन्ता, डिप्रेसन र न्यून आत्मसम्मानले अस्वस्थ खानपान तथा शारीरिक निष्क्रियता बढाउन सक्ने भन्दै सङ्गठनले मोटोपन भएका बालबालिकाले सामाजिक लाञ्छना र बुलिङको सामना गर्नुपर्ने जोखिमतर्फ पनि ध्यानाकर्षण गराएको छ।


विश्व खबर 



















