images
images
  • मन्त्रिपरिषद् बैठकः पोर्चुगललाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति

    काठमाडौं– सरकारले पोर्चुगल सरकारलाई काठमाडौंमा महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सहमति दिएको हो।

    त्यस्तै बैठकले राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिस भएका १५३ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

    मन्त्रिपरिषद्ले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलगायतका अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

    बैठकले नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फका सहसचिव (प्रा) नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।

    यसैगरी नेपाल प्रशासन सेवा समूहीकरणतर्फका सहसचिव चक्रबहादुर बुढालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए।

    यस्तै नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images