images
images
  • श्रीलंकाकी पूर्वप्रथम महिला राजापाक्ष पक्राउ

    काठमाडौं– श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा राजापाक्षकी पत्नी तथा पूर्वप्रथम महिला शिरन्ती राजापाक्षलाई परोपकारी संस्थाले बाल अस्पतालका लागि सङ्कलन गरेको चन्दा रकम दुरुपयोग गरेको आरोपमा बुधबार पक्राउ गरिएको छ।

    राष्ट्रपति अनुरा कुमार दिसानायकेको सरकारले लामो समयदेखि निष्क्रिय रहेको भ्रष्टाचारसम्बन्धी अनुसन्धान पुनः अघि बढाउने क्रममा उनलाई पक्राउ गरेको हो। ७३ वर्षीया शिरन्तीलाई कोलम्बोमा पक्राउ गरी मजिस्ट्रेटसमक्ष उपस्थित गराउने तयारी गरिएको घूसखोरी वा भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने आयोग (सीआईएबीओसी) ले जनाएको छ।

    प्रहरीका अनुसार स्थानीय क्यान्सर अस्पतालका लागि पीईटी स्क्यानर खरिद गर्न उनको सिरिलिया सविया च्यारिटीले सङ्कलन गरेको करिब एक करोड रुपैयाँ अर्थात् ३० हजार ३०० अमेरिकी डलर बराबरको रकमबारे अनुसन्धान भइरहेको छ। अनुसन्धानकर्ताहरूले उक्त स्क्यानर चिनियाँ सरकारले यसअघि नै दान गरिसकेको भए पनि परोपकारी संस्थाले चन्दा सङ्कलन जारी राखेको र रकम दुरुपयोग गरेको आरोप लगाएका छन्।

    शिरन्तीले भने आरोप अस्वीकार गर्दै आफूले कुनै गलत काम नगरेको बताएकी छन्।

    उपचारका लागि सेप्टेम्बर १६ मा सिङ्गापुर गएकी उनी अदालतमा गिरफ्तारी रोक्न निवेदन परेपछि सोमबार श्रीलङ्का फर्किएकी थिइन्। उनको अग्रिम जमानतसम्बन्धी सुनुवाइ अक्टोबर १२ का लागि तोकिएको छ।

    राजापाक्ष परिवारका अन्य सदस्यसमेत कानूनी समस्यामा छन्। पूर्वप्रथम महिलाका जेठा छोरा तथा विपक्षी सांसद नमल राजापाक्ष सन् २०१३ मा भएको एयरबस विमान खरिद सम्झौतासम्बन्धी अभियोगमा हिरासतमा छन्। राजापाक्ष परिवारले भ्रष्टाचारका आरोप अस्वीकार गर्दै आफूहरूमाथिको कारबाही राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी गर्दै आएको छ।

    महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। सन् २०२२ को व्यापक विरोध प्रदर्शनपछि उनका भाइ गोताबाया राजापाक्ष राष्ट्रपतिबाट हट्नुपरेसँगै परिवारको राजनीतिक प्रभाव कमजोर भए पनि महिन्दा अझै श्रीलङ्काका प्रभावशाली राजनीतिक व्यक्तित्वमध्ये रहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images